Shyamal – Sarta

श्यामल – सर्त

जबसम्म नारी बलात्कृत भइरहन्छे
र आकास धुजा धुजा पार्ने गरी
महासागर सुक्ने गरी चिच्याइरहनेछ
जबसम्म चरा कैद गरिएको हुन्छ पिँजडामा
उसले आफ्ना स—साना चुच्चाले
फलामको पिंजडा भत्काउन छाड्ने छैन
परन्तु जीवित नै हुनेछ करुणा र कोमलता
प्रेमीहरूले छिनाल्नेछन् आफुलाई बाँध्ने सिक्रीहरू
प्रेम चलिरहनेछ ।

जबसम्म हत्याराको मुठीमा छटपटिएको हुन्छ न्याय
र पैसा हुन्छ डाँकाको ब्रिफकेशमा
जबसम्म आलमारीका किताबमा बन्द हुन्छ इज्जत
र शिक्षा बेरिएको हुन्छ
काँजो बेरिएजस्तै मास्टरको लट्ठीमा
जबसम्म बसिरहनेछ हत्यारा आरामदायी मेचमा
र मानिसहरु हुनेछन् त्यसभन्दा तल भुईंमा
धर्ती कम्पायमान भइरहनेछ ।

त्यतिन्जेलसम्म जन्मिरहनेछन् स्पार्टाकसहरू
जबसम्म चराहरुले गीत गाउन छाड्ने छैनन्
जबसम्म जमीन बाँझो हुन्छ र
कोदालीले विना काम
कुनामा झोक्राइरहनुपर्छ
किसानले जबसम्म हातमा लाठी लिएर
जमीन जोगाइरहनुपर्छ
क्रोध बढिरहनेछ ।

पानी भएसम्म नदी बगिरहनेछ
चेत भएसम्म मानिस छट्पटाइरहनेछ
विश्वास भएसम्म मानिस विश्वास गरिरहनेछ
आशा भएसम्म हौसला भइरहनेछ
बाजा भएसम्म सुनिइरहनेछ ताल, सुर र नाद
यो मन झंकृत भइरहनेछ ।

यी निराशा, क्रोध र हो—हल्लाका बीच
शिशुहरु जन्मिइरहनेछन्
र तिनकी आमाका पवित्र स्तनबाट
जीवन रसाइरहनेछ
मानिस आफ्नै देवताबाट मुक्त नभएसम्म
दासमोचन भएको मानिने छैन
त्यसपछि पनि अनन्तकालसम्म
मानिसहरुको आवाजले हावा कम्पित भइरहनेछ
जीवन चलिरहनेछ ।