Sabitra Kafle – Santrasta Man

साबित्रा काफ्ले – सन्त्रस्त मन

सन्त्रस्त मन,
भूईं कुहिरोको
धुमिल छायाँ,
सन्नाटा छाएको
सुदूर वस्तिको
एउटा कथा,
कोरिएको छ
मौन आकाशमा ।

खडेरी परेका रातहरु,
अनिष्ट सम्भावना बोकेर,
उदाउँछ
मरुभूमी बिहान।
र,
एकहुल बाजहरु
नमिठो चित्कार
गाउँछन्
मान्छेहरुको समाधिमा ।

अभ्यस्त बाटो,
क्यानभासमा कोरिएका
स्वप्निल रङ्गहरु,
अब्यक्त पहाड
निर्निमेष हेरिरहन्छ
आफू अगाडिको
कहालिलाग्दो तस्बिर।
र,
गुन्जन्छन गीतहरु
तरङ्ग भएर
पहराको छातिबाट,
चिरेर मौनता
आकाशको ।