भीडका आँखाहरू सहन सक्दैन
ऊ एक्लो छ ।
ऊ एक्लो छ
र उसलाई कुनै कुरामा विश्वास छैन
उसलाइ विश्वास छैन आफ्नी धर्मपत्नीमाथि
र विश्वास छैन आफ्नो सम्बन्धमाथि
इतिहासले आफ्ना पानाहरूमा
यस्ता तिथिहरू राखेको छ
कि ऊ खस्न सक्छ कुनै पनि बेला
कुनै पनि बेला
उसको अङ्गरक्षकको अनुशासन
भङ्ग हुन सक्छ
र उसको पहिलो शिला
कमजोर हुन सक्छ ।
त्यति नरम ओछ्यान
उसलाई खतरा लाग्छ
कोही चिच्याउँछ कि पलङमुनिबाट ?
उसलाई शङ्का लाग्छ
कुनै पनि बेला
उसका साथीहरू
कृत्रिम चुम्बकमा टाँसिएका आलपिनहरूझैँ
एक
एकपछि अर्को
र अर्कोपछि अर्को हुँदै
झर्दै जान्छन उसबाट
एक्लोपन यसरी दुख्छ
कि उ त्यसलाई दबाउन
क्याप्सुलहरू खान्छ
ऊ एक्लो छ ।
ऊ एक्लो, एक्लो र नितान्त एक्लो छ
यसरी उसलाई
आफ्नो शिरमाथि सुहाउने रत्नजडित टोपीहरूमाथि
त्यति विश्वास छैन
बहुमूल्य पोसाकहरू
र सौखिन पाइलाहरूमा
किञ्चित विश्वास छै,
फगत नसाहरूमा विश्वास छ
जसले छोपेर आफ्नो भयाक्रान्त अनुहार
आफुबाट भगाउँछ
तर ऊ एक्लो छ ।
जसरी झर्दै जान्छन् कुकुर बुढिएपछि
र कुकुरलाई आफुले लुछ्ने गरेको
मासुको टुक्रो असजिलो लाग्छ
त्यस्तै लाग्छन् भीडका आँखाहरू
त्यस्तै लाग्छन्
मानौँ ऊ भीड छलिरहेछ
तर लखेटिएको मानस
नसाले छोप्ने कसरत गर्छ
उसलाई आफुले चढ्ने गरेको घोडासँग
असाध्य डर लाग्छ
ऊ एक्लो छ ।
म भीडमा छु
र भीड स्थुल हुँदै गएको छ ।