Bimal Nibha – Samaya

रातो लेटरबक्सबाट निस्कनेछ
दुष्टहरुका नाममा
पत्रबम
सलाईमा बन्दी बारुद
एकाएक सल्कनेछ
तीव्र क्रोधाग्निमा
चुरोटको धुवाँसँगसँगै
सोचमा डुब्नेछ
उज्यालो दिनको
गर्विलो शिर
दमकलमा भरिनेछ
पानीको सट्टा
अति ज्वलनशील पदार्थ
पेट्रोल
चुलोको आगोमा तातिनेछ
विस्तारै–विस्तारै
बिहान, मध्यान्ह
र रात्रि
बिजुलीको लट्ठामा झुन्डिनेछ
करोडौं–करोडौं वाटको
सूर्य
र तिम्रो देब्रे नाडीको
रेडियम घडीमा
बज्नेछ
यो देशको सबभन्दा चम्किलो
समय
(२०४२)