Binod Khadka – Sabai Sabai Janata Nai Hun

गरिवी र अभावसंग लड्दै हिड्ने
मोजमस्ती र आलिसान महल पनि भोग्ने
तरेली खेतहरुमा गोरु जोत्ने
नयाँ सडकमा पाजेरो पनि हाक्ने
सबै सबै जनता नै हुन
आफ्नो आफ्नो यथार्थ भोग्ने ।

धामीलाई मुस्किलले घरमा भित्राई
प्रीयसीको जीवन माग्ने
विदेशको महंगो उपचार धाई्र
स्वास्थय लाभको कामना गर्ने
सबै सबै जनता नै हुन
आफ्नो आफ्नो यथार्थ भोग्ने ।

लेकको भेडीगोठमा गोठालो बस्दै
पढ्ने उमेर गुमाई निरक्षरता भोग्ने
शहरका महंगा बोर्डिगस्कुलहरु चहार्दै
शिक्षा र संस्थाहरुमा गुणस्तर रोज्ने
सबै सबै जनता नै हुन
आफ्नो आफ्नो यथार्थ भोग्ने ।

दाईजॊ पीडाले जीउदै पोलिने
बिहेको अर्थै नबुझि पारापाचुके भोग्ने
शैक्षिक प्रमाणपत्रको मोलमोलाई गर्ने
दाईजोको बजार चहार्दै हिड्ने
सबै सबै जनता नै हुन
आफ्नो आफ्नो यथार्थ भोग्ने ।

समाजसेवाका नाममा नेतागिरी गर्ने
नेतागिरीका नाममा राजनैतिक ठगी गर्ने
भाषणमा मख्ख पर्दै ताली पिट्ने
मतदानमा ढुक्क समाधान खोज्नॆ
सबै सबै जनता नै हुन
आफ्नो आफ्नो यथार्थ भोग्ने ।

बन्दुक बोकी गाँउ चहार्ने
घरघर गई जनता थर्काउनॆ
सपना बाँटी युवा लुट्ने
भारी बोकी परिवार धान्ने
सबै सबै जनता नै हुन
आफ्नो आफ्नो यथार्थ भोग्ने ।