Matrika Pokhrel – Sabai Kura Sancho Hunechha

मातृका पोखरेल – सबै कुरा साँचो हुनेछ

सबै कुरा साँचो हुनेछ त्यसबेला,
बगरमा पल्टिएका
काला ढुङ्गाहरू बोकेर
घोडाहरू शिखर चढ्न खोज्नेछन्,
आकाशबाट चराहरू लड्नेछन्,
र, भ्यागुताहरू चराको प्वाँख टाँसेर
सिंहदरबारभित्र पस्नेछन्,
आजका मितिको टुकुचाको पानी अँजुलीमा उघाएर
शुद्धजलको बहस छेड्नेछन् पण्डितहरू,
बाघमाथि चढेर मृग
आफ्नो लक्ष्यको,
सुदूर यात्रा तय गर्नेछ,
लाटोकोसेराहरू,
घामको सुन्दरताको बखान गर्न
व्यासासनमा बस्नेछन्,
र, इतिहासको क्रुर नियति बोकेर
वर्तमान बगिरहनेछ
अनाथ रगतको बागमती ।

* * * *

हो, सबैकुरा साँचो हुनेछ त्यसबेला,
अस्पतालभित्र डाक्टरहरू
जीवित र मृत मान्छेहरू
छुट्याउन असमर्थ हुनेछन्,
वर्षाको भेलले,
देवीथान भत्किएको बेला
सिद्धान्त रक्षाका लागि
अदालतमा मुद्दा लड्नेछन्
निरीह राजनीतिज्ञहरू,
मेरो गाउँको निश्चल कुवामाथि
फेरि घोलिने छन्
एसिडका रङ्गीबिरङ्गी पोकाहरू,
हो, त्यसबेलासम्म
यो सब भइरहनेछ,
जबसम्म बग्ने छ–
हाम्रो रगतमा पहेँलो रङ्ग,
सबै कुरा सामान्य हुनेछ त्यसबेला
जबसम्म देखिने छ
हाम्रो आँखाको पर्दामा
कात्रोको जस्तो पहेँलो रङ्ग,
हो, त्यतिबेलासम्म
सबैकुरा साँचो हुनेछ ।