Biplav Pratik – Saamanjasya

बिप्लव प्रतिक – सामञ्जस्य

तोते बोल्थेँ, दौडिँदै केराघारीलाई अँगाल्थेँ
भोगटेका रूख चढ्थेँ, खस्थेँ
र सूर्योदय हुनेबित्तिकै बाबा र आमाको वात्सल्यबाट
फुस्किएर आँगनमा र्झर्थें
घर फर्किंदै गरेका चराचुरुङ्गीका बथान
धानखेतमा बसेर हेर्दाहेर्दै सुर्य अस्त हुन्थ्यो ।
दौँतरीहरू हुन्थे, तिलौरी हुन्थ्यो
दसैँमा टीका अनि फेरि द्यौसी र झरिझरिे हुन्थ्यो
त्यो शैशव थियो ।

कुनै मोह थिएन, उमङ्गबाहेक
कुनै त्रास थिएन, परम्पराको बाहेक
हो, मोह थियो र त्रास पनि थियो
शैशव थियो त्यो ।

आज म हुर्किएको छु
मोह र त्रास पनि हुर्किएको छ
नयाँ रूप छ र त्यसको रङ्ग फैलिएको छ ।
अब म आरुबारीमा आरु चोर्न जान सक्तिनँ
अब म स्कुल जान र त्यहाँबाट बीचमै कक्षा छाडेर भाग्न सक्तिनँ
तर, खुसीहरू चोर्न सक्छु
आफ्नो महत्वाकाङ्क्षाको धनुषले
कसैको बलि दिन सक्छु
औँलाहरूको डरले म आफैँबाट
भाग्न सक्छु
म कर्तव्यबाट भाग्न सक्छु, म बाटो बिराउन सक्छु
हो, पक्का हो !
मोह पनि हुर्किएको छ
त्रास पनि हुर्किएको छ
केही बदलिएको छैन
केवल दृष्टि बदलिएको छ
परिभाषाहरू बदलिएका छन्
केवल यत्ति हो कि
कट्टु लगाएर सिँगान पुछ्दै
नाङ्गा खुट्टा, धुस्रैफुस्रै
कसैले देख्छ कि भनेर पल्याकपुलुक हेर्दै
अब म आरुबारीमा आरु चोर्न जान सक्तिनँ ।

घट्टेकुलो, २ नोभेम्बर १९९२