Bodh Raj Pant – Rara

बोधराज पन्त – रारा

परेलीमा मेरो छायाँ सजाएकी तारा देखें
चुच्चेमारा झरेपछि लजाएकी रारा देखें ।

कैले घुम्टो बादलुको रिमझिम रिमझिम बर्षां
छातीभरि नीलो आकाश तरंगका धर्सा
भोकाएको चरी, मीठो प्रकृतिको चारा देखें
चुच्चेमारा झरेपछि लजाएकी रारा देखें ।

पर्खिएकी अभिसार बिच्छ्याएर आँखाहरु
मधुमास हो आज क्यारे सुसेलेर भाखाहरु
केही लज्जा, केही भय, दुलहीको पारा देखें
चुच्चेमारा झरेपछि लजाएकी रारा देखें ।

चीसो चीसो हावा, चीसो नीलो कञ्चन पानी
रंगी चंगी बुँकी भित्र हिमालकी रानी
उन्को पाऊ धुँदै बग्ने खत्याडको धारा देखें
चुच्चेमारा झरेपछि लजाएकी रारा देखें ।

यतै बसी एकान्तमा कुराकानी गरिरहूँ
सुम्सुम्याउं केश राशी अंगालोमा भरिरहूँ
जस्तो लाग्यो जब उन्को रुपरंग सारा देखें
चुच्चेमारा झरेपछि लजाएकी रारा देखें ।

सल्लेरीको बाँसुरीमा लता तरेलीका नाँच
संगसंगै माझतिर पौडी खेल्ने राजहाँस
बाँकी सबै पृथ्वीलाई मैले सर्वाहारा देखें
चुच्चेमारा झरेपछि लजाएकी रारा देखें ।

रुपन्देही