Tika Bhakta Jirel – Panch Tukre Kabita

टीकाभक्त जिरेल – पाँच टुक्रे कविता
(मधुपर्क साउन, २०६७)


च्यातेर भ्रमको पर्दा
उभिँदा
ऐना अगाडि
थुक्यो भने ऐनाभित्रको मान्छेले
के हिँड्नु
दोसल्ला ओढेर….।।


बुढेनीलाई भाकेको
रातो भाले
स्यालले लगेपछि
बार्दलीबाट
बेस्कन भुक्यो-
मेरो भोटे कुकुर ।।


चोक-चोक
गल्ली-गल्लीमा
टाँगिएका
सिनेमाको कुनै
कामुक पोस्टर हेरेर
सपनामा सर्प नचाउँछ-
बालब्रहृमचारी ।।


तिमीले मेरो बौद्धिकता
मैले लगाएको
पुरानो कमिजमा खोज्यौ
धन्य ! तिम्रो बौद्धिकता ।।


तिम्रो-
मानसम्मान, पुरस्कार, स्याबासी…
केही चाहिन्न
तिमीले नचिनेर के भो र
मलाई
मेरो ईश्वरले चिने पुग्छ ।।