सरोज धिताल – पहिरो र मान्छे
प हि रो …
के यो श्राप हो कसैको ?
श्राप
जो कहिल्यै सुन्दर हुँदैन
श्राप
जो कहिल्यै कोमल हुँदैन
कहिल्यै सहज स्वीकार्य हुँदैन ??
प हि रो ..
के यो श्राप हो कसैको ?
कुरूप धारिला चट्टानहरूको
कवच पहिरिएर
पैशाचिक शक्तिलाई
अलच्छिनमा पोको पारेर
बहुलाएको तानाशाहजस्तो पहिरो
घोच्ने आँखाले मलाई यसरी हेर्छ
कि ऊ मसित अघिल्लो जन्मदेखिको बदला लिन चाहन्छ
बारम्बार मानिसको रगत पिएर पनि
कहिल्यै तिर्खा नमेटिएको
विक्षिप्त हत्यारा जस्तो
ऊ जताततै लासहरू देख्न चाहन्छ ।
विभीषिकाको अभिलेख भएर उभिएको
नाङ्गो पहिरोको अगाडि
म
मान्छेको सन्तान
“हे भगवान !” मात्र भन्न सक्छु
निरीह बन्छु
बिस्तारै–बिस्तारै लास हुँदै गएको अनुभव गर्छु
अलि–अलि मर्दै जान्छु
मर्दै जान्छु ।
तर
त्यही पहिरोको शिरमाथिबाट
त्यो सानो सुन्दर हरियालीबाट
ढिकी र जाँतोको आवाजसँगै
माटो र पसिनाको सुवाससँगै
“माता मे पृथ्वी
पुत्रो ऽ हं पृथिव्या”
भन्दै
जीवन जत्तिकै सुन्दर केही
मुसुक्क हाँस्छ
आहा !
मान्छे हाँस्छ ।
२६-५-१९९७