Kedar Shrestha ‘Gagan’ – Naya Barsha

पात्रो फेरेर
वूढो पार्दै मान्छेलाई
यो पल्ट पनि
आगमन भयो
नयाँ वर्षको
र असिमित भन्ज्याङ्ग र घुम्तीहरु पार गर्न
एक खुडि्कलो उक्लियो जीवन

वेहुली अनिमएको घर मन
प्रत्येक आफ्नो बुढ्याईसँगै
सृजना गरिरहेछ नयाँ–नयाँ संस्मरणात्मक कृतिहरु
र अभाव अनुभूति गरिरहेछन् आँखाहरु

प्रत्येक वसन्तसँगै उपस्थित हुने नयाँ वर्षलाई
देखेजस्तै मान्छेले
खै! कहिले देख्लान्
पूरा भएको यी आँखाहरुले
उसले बनाउदै गरेको अमूर्त चित्र

पशुपति र रत्नपार्कको छेउछाउमा
हात पसारेर बस्ने
मान्छेहरुको पेटभरि अन्न,
आँखाभरि सपना पाल्दै
भारी बोकेर जीवनभरि
पिठ्यू रित्तै देखाएर हिड्ने
भरिया दाइको आङ्गभरि लुगा
र परदेशीएका मायालुहरुको खोजीमा
गाइने असिमित गीतहरुको अन्तिम अन्तरा।