Bibek Dulal Chhetri ‘Damak’ – Nar Bahadur

विवेक दुलाल क्षेत्री “दमक” – “नरबहादुर….!” (कबिता)

चाक्लो गाडीको भीडबाट
नरबहादुर
नाम्लो ,ढाकर
र सुन्तलाको सट्टा
एक भारी
अत्यासलाग्दो मन बोकेर
मरुभूमिको घाम जस्तो
तातो पर पर सम्म
फैलिएको सडक
ए ….मानको
पार गर्दैछ .

शिग्नल्मा उभिएर
हरियो बती कुर्दै
उसको किचिंग मिचिंग् दिमागमा
उ बेला …….राजधानीको आकाशेपुलमा
फूलमाया सोल्तिनिसित
बदाम सगै
सगै मर्ने ,सगै बाच्ने
कसम खाएको सम्झेर
उ …
झल्यास्स हुन्छ .

“…गाठे …!
फेरी
रातो बत्ति बलि हालेछ
मेरो बुद्दी ..!”
र पुन कालो पत्रे सडकको
कालो भूमिमा
कहालिदै
नर बहादुर घरतिर फर्कन्छ ,
“पहाडको एशेलुबारी मुखिया बा कहाँ
बन्धकी राखेर आए “,
आमा बरै के गर्दै होलिन्,
मुजा परेको अनुहारमा
मुस्कान भर्दै -“नरे छोरा
पैसा कमाएर आएस्,र
यौटी मन भएकी बुहारी ल्याएर
मेरो काखमा यौटा नाती र यौटी नातिनी राखेस्..!”
यो समझदा सम्ममा निलो बती बल्यो
तर नर बहादुरले
तातो घाम पार नगरे पनि
अहिले लाइ
कालो सडक
पार गर्यो .

यसरी नर बहादुर
प्यारो बारी ,प्यारो माटो
प्यारो देश ,प्यारा प्रियजन
छाडेर मुग्लानमा
पशिना बगाउदैछ
खाडी र मध्यपूर्व
युरोप र अमेरिका
मलेशिया र जापान
कंगो र कोरिया या परदेशको
कुनै बिरानो शहरमा
यसै जिन्दगिको
उमेर काटी रहेछ
यसै आफैलाई ढाटे जसरी
क्षणिक खुशीलाई
स्थाई खुशी मानि रहेछ

तर थुप्रै
सत्यताहरू
जीवित छन्
किनभने-
हरेक नरबहादुरले
जहा रहे पनि
हिमालको चिसो स्पन्दन भुलेको छैन
पहाडको उच्छाबाश र उमंगलाई
आफैबाट लत्याएको छैन
तराइका समथल फाटलाइ
आफ्नो मुटु भित्र कोर्न बिर्सेको छैन
बल्कि मात्र बिर्सेको छ
बाहिर हासेर परदेसिनुको भित्री पिडा
मात्र बिर्सेको छ
खालि बोलीमा औपचारिकता देखाएर भए पनि
प्रत्येक पल आफन्त बिनाको शुक्कता .

अस्तु :
(वास्तविक नाम :भानु भक्त दुलाल )
दमक ,झापा
हाल : अबुधाबी ,यू ए इ .