Lakshmi Mali – Nachhen Galli

भँगेराको चिरविर स्वरसँगै
नछेँ गल्ली ब्यूँझिन्छ
सुनधारा, संकटा र भद्रकालीको
चहलपहलसँगै
प्रत्येक बिहान मेला लाग्छ
नछेँ गल्लीमा ।
बढारकुँडार,
लिपपोत, पानीपँधेरो
ग्वारामरी, चतांमरीको लस्कर
पसल पसलमा मानिसको ओइरो
दगुरादगुर, हस्याङ्गफस्याङ्ग
मर्निङ्ग वाक
हरेक बिहान मानिसहरु यसरी
ओहोरदोहोर
मानौं मेला लागिरहेको छ
नछेँ गल्लीमा ।
एउटा परिवार हो नछें गल्ली
जहाँ आपत विपतमा एकैढिक्का हुन्छन् मानिसहरु
कुनै चाडपर्व आउनुअघि नै
चहलपहल शुरु हुन्छ
हरेक चाडपर्व उल्लासमय बन्छ ।
हरेक दिनको मेलामा
हुनेखानेको बाहुल्यता हुन्छ
हरेक चाडपर्वमा
नयाँ लुगा उनीहरु नै लाउँछन्
मिठा मिठा परिकारको भोज
उनीहरुकहाँ नै बन्दछन्
यसरी
हरेक दिन
हरेक वर्ष
हरेक मेला, जात्रा
चाडपर्वहरुले
गरीवको उपहास गर्छन्
नछें गल्लीमा ।
यसरी थिचिएका
गरीव बच्चाहरुका आँखाहरु
टुलुटुलु हेर्छन्
आफ्नै साथीहरुले
लगाएका नयाँ लुगाहरुमा
टलक्क टल्किने जुत्ताहरुमा
थुक निल्छन्
रछ्यानमा मिल्काएका भोजका लपेसहरुमा
लपेसमा बचेका दुईचार सिता चिउरा
र हाडका टुक्राहरुमा
यसरी
मैयाँसाहेब र काजीसाहेबहरुबाट किचिएका
हाकुचा, सियुचा, भुयुचा र मैंचाहरुले
दशैं आएको चाल पाउँछन्
घोडेजात्रा आएको थाहा पाउँछन्
मेरो नछेँ गल्लीमा ।
आफ्ना साथीहरु
हातमा किताब च्यापेर
स्कूल गएको देख्दा
टोलाउँदै हेर्छन्
अनि
आफूहरुले पनि
हातमा किताब च्यापेको
स्कूल गएको
सपना देख्छन्
यसरी
हाकुचा, सियुचा, भुयुचा र मैंचाहरु
पाङ्ग्रा गुडाउँदै
फोहोरी शब्दमा गाली गर्दै
कुस्ती खेल्दै
जवान हुन्छन्
नछेँ गल्लीमा ।