Min Dwandi – Myagdi Sandhai Mero Samjhana Ma

हरेक दिनको बिहानीले
मेरो मनलाई डोर‌्याउंदै–डोर‌्याउंदै लैजान्छ
हरेक रातको निस्तव्धताले पनि
मेरो मनलाई घुमाउंदै–फिराउंदै लैजान्छ
म जन्मेको ठाउँतिर
मेरो प्यारो गाउँतिर ।
म्याग्दी खोलाको बालुवामा
मैले बनाएका गौंथलीका गुँडहरूले
मलाई बिर्सिसकेका होलान्
म्याग्दीको प्रवाहमा
मैले गाई बनाएर तारेका पातला ढुंगाहरूले
मलाई बिर्सिसकेका होलान्
मलाई बिर्सन सक्ने आफन्तहरूलाई,
मैले बिर्सन नसक्ने आफन्तहरूलाई
फेरि–फेरि पटक–पटक भेट्न मन लाग्छ
“मलाई बिर्सिसक्यौ कि सम्झदैछौ ?” भनेर
उनीहरूसँग सोध्न मन लाग्छ ।
गुँरास फुलेर रंगिएका राता डाँडाहरूमा
मेरो मनले पञ्छीहरूको बोलीमा लोली मिलाएर
उन्मुक्तिको गीत गाउन चाहन्छ
लालुपातेको बारमा सरसराउंदै हिंड्ने हावासँग
मेरो मनले कहिल्यै नफाट्ने गरी
मितेरी लाउन चाहन्छ ।
म धाइरोका फूलहरूमा रस ओसार्न आएका
माहुरीहरूसँग खेल्न चाहन्छु
म उनीहरूसँग श्रमको बारेमा
धेरै–धेरै प्रश्न सोध्न चाहन्छु ।
आलु लिन ढोर गएका गाउँले ‘पाटी’ हरू
ठाउँ–ठाउँमा सुस्केरा बिसाउँदै
गाउँमा फर्किसकेका होलान्
भुङ–सल्लाको बन कुरेर
बसेका गोठाला साथीहरू
गोठ सारेर औलतिर लर्किसकेका होलान् ।
मलाई काँडाले कोरेर रक्ताम्य भएको
उनीहरूको शरीर सुम्सुम्याउन मन लाग्छ
मलाई नाँगो खुट्टा जलमा हिंड्नु पर्दा
पट्–पट् फुटेका उनीहरूको पैताला छुन मन लाग्छ ।
कार्कीनेटाको उकालो नाघेर
जीन्दगीको भारी डुलाउं‘दै
नौडाँडातिर ओहर–दोहर गर्ने
भरियाहरूको मलाई संझना हुन्छ
विदेशी मालिकको सेवामा मन भुलाउँदै
जिउनको लागि परदेश कुरिरहेका
दौंतरीहरूको मलाई संझना हुन्छ ।
म उकालीमा भारी बोकेर धङधङाउँदै बढेका
पाइलाहरूको पीडा नाप्न चाहन्छु
म बिरानो देशबाट अक्षरमा भक्कानो जडेर
पत्र लेख्ने मित्रहरूको बेदना नाप्न चाहन्छु ।
साना–साना नानीहरू खुट्टा बजार्दै खुनखुनाइरहेका होलान्
भोकले लाम्पाटा परेका पेट लिएर
धुलोमा धुस्रैफुस्रै हु‘दै रोइरहेका होलान्
उनीहरूलाई जुन–ताराको कथा सुनाएर भुलाउन मन लाग्छ
स्वतन्त्रता चाहने आकाशको
साँचो ब्यथा सुनाएर फुलाउन मन लाग्छ
अवोध बालबालिकाहरूको निश्छल आँखामा
आँसु देख्नु पर्दा मेरो मन कुँडिन्छ
कुपोषणको महामारीले चिथोरिएका चिचिलाहरूको
लाश देख्नु पर्दा मेरो मुटु चुँडिन्छ
मैले नचाहँदा नचाहँदै पनि घरि–घरि मेरो मन
च्याण्टे र भुण्टेहरूलाई गाडिएको चिहान डाँडामा पुग्छ
चिहानमाथि फर्फराईरहेका सेता धजाहरूको अगाडि मेरो शीर झुक्छ ।
हरेक दिनको बिहानीले
मेरो मनलाई डोर‌्याउंदै–डोर‌्याउंदै लैजान्छ
हरेक रातको निस्तव्धताले पनि
मेरो मनलाई घुमाउँदै–फिराउँदै लैजान्छ
म जन्मेको ठाउँतिर
मेरो प्यारो गाउँतिर ।