Min Dwandi – Mero Jhul Bhitra Ko Sansar

एउटा थोत्रो झुल
धुजा धुजा परेको
पुरानिएर गन्हाइसकेको
एउटा नाम मात्रको झुल
त्यही मेरो झुल
मैले रात काट्ने झुल ।
अनगिन्ती लामखुट्टे, उडुस र उपियाँ
अनि यिनीहरूद्वारा संरक्षित
भुसुना र पुत्लाका दलहरूले
प्रत्येक रात मेरो रगतको होली खेल्दछन्
आफ्ना विषालु सुँढ गाडेर
मेरो शरीरको रगत सिध्याइरहेछन्
मेरो अस्तित्वलाई नै रित्याइरहेछन् ।
एकपछि अर्काको लगातार डसाइले
जब सहनशीलताको बाँध भत्किन्छ
तब बदलाको भावना लिएर दा¥हा किट्दै
ढाडिएको एउटा उडुसलाई पच्याक्क–पिचिक्क पार्न
पिछा गर्दै म बिछ्यौनाको रक्ताम्य क्षेत्रभित्र कुद्छु
त्यसै बखत पछाडिबाट लामखुट्टे र उपियाँले
एकैसाथ प्राण नै लिने गरी डस्छन्
अनि चित्कार छोड्दै
मैले डसिएको ठाउँमा हात पु¥याउँदासम्म
शोषक उडुस
बिछ्यौनाको क्षेत्रभित्रै गायब भैसकेको हुन्छ ।
प्रत्येक रात म यसरी नै डसिंदै गएको छु,
चुसिंदै गएको छु,
अस्तित्वविहीन हुँदै गएको छु,
यस्तै रीतले यहाँ मैले
एउटा जीउँदो युग बिताएको छु ।
यो मेरो गन्हाउने झुत्रो झुललाई
धुने कुरा पनि यदाकदा हुने गर्छ यहाँ
त्यतिखेर
अब त एक निंद सुत्न पाइने भो भन्ने लालसाले
यस झुलको दुर्गन्ध र यसभित्रका तमाम रक्त–पिचाशहरू
पखालिने भए भन्ने आसाले
एकछिन कल्पित संसारको आनन्दमा डुबुल्की मार्नपुग्छु
तर…तर धुने नाममा
वर्षौदेखि जमेको फोहोर पानीमा
बिना साबुन मेरो झुललाई
एकपटक चोपेर मात्र निकालिन्छ
अनि त्यो कथित धुवाइले त
झुलको दुर्गन्ध र यसभित्रका रक्त–पिपासुहरू
धोइनुको सट्टा
उल्टै थपिन्छन् यसमा अमिबा र ब्याक्टेरियाका झुण्डहरू ।
यस्तै कथा–ब्यथाहरू बोकेर
आफ्नै रगतले रंगिएको बिछ्यौनामा
मिर्मिरेको प्रतिक्षामा
म छट्पटाउँदै आइरहेको छु
मैले झ्याउँकिरीको रूवाइ पछिको प्रत्येक पल
भालेको डाको सुन्न हतारिएर
तड्पी–तड्पी बिताएको छु ।
आज सम्पूर्ण षडयन्त्रको पर्दाफास भैसकेको छ
पटक–पटकको धोखाले म चेतिसकेको छु
अनि यी उडुसहरूलाई मास्न
प्रत्येकसँग भिडेर रातहरू बिताउनु पनि
मेरो मूर्खता हो भन्ने
व्यवहारद्वारा बुझिसकेको छु
कारण, यहाँ मैले एउटालाई मार्दा–नमार्दै
अरू दशवटा पलाइसकेका हुन्छन् ।
आज मैले यो पनि थाहा पाएको छु कि
यी सम्पूर्ण चुसुवा उडुसहरूको अन्त्य गर्न
मैले यो दुर्गन्धयुक्त झुत्रो झुललाई
उखेलेर च्यातचुत पारी
दन्कँदो ज्वालामा भस्म पार्नु परेको छ
अनि त्यसभित्रका रक्तपिशाचहरूको पनि
त्यही झुलसँगै अन्त्येष्ठी गर्नु परेको छ ।
एकदिन अवश्य पनि मतिर हेर्दा
मेरो झुत्रो दुर्गन्धयुक्त झुल डढिरहेको तिमीले देख्नेछौ
यसभित्रका रक्त पिपासुहरू खरानी भएको देख्नेछौ
अनि त्यसको स्थानमा
मेरो आफ्नै हातले बनाएको
आफ्नै श्रम र शीपले बनाएको
साधारण तर सुन्दर र बलियो झुलभित्र
तिमीले मलाई सुरक्षित देख्नेछौ
अनि मलाई मस्त निद्रामा पाउनेछौ ।