Rabindra Mishra – Mero Desh

रबिन्द्र मिश्र – मेरो देश

गोलीहरू हावामा उड्छन्
बाटा-बाटामा गोलाहरू गुड्छन्
मानिसहरू एकअर्कासँग मुस्कुराउँदैनन्
एउटा अनौठो मौनता छाएको छ हाम्रा पहाडहरूमा ।

तपाईं घुमाउरा बाटामा
पीडा पखाल्दै हिँड्ने एक्ला भरिया देख्नुहुन्न
भीरपाखामा चिन्तामुक्त बतासिने बैँसहरू देख्नुहुन्न
विश्वास नै आतङ्कमा परिणत हुनसक्छ
सुरक्षाका लागि शङ्का गर्नुपर्छ

रङहरू बदलिएका छन्
ती नीलाबाट राता भए
राताबाट, सब सेता भए
पीर, पीडा र रङ गुमाएका विधवाहरूबाहेक केही देखिँदैन
अनौठो मौनता छाएको छ हाम्रा पहाडहरूमा ।

अनि मेरा मित्रहरू भन्छन्
तिमी नर्फक, कुनै हालतमा नर्फक
देश युद्धमा छ ।

सायद ती बुझ्दैनन्
यदि मेरो टाउको हरेक दिन चुनावी मुद्दा बन्छ भने
यदि सीमाहरू मलाई नै बाँध्न कसिन्छन् भने
र, म सदाका लागि अ-आमन्त्रित पाहुना बन्छु भने ।

मेरा मित्र
तिमीले बुझ्नुपर्छ
तिमी, तिम्रो देशमा, सिर्फ एकपल्ट मर्छौ
तर, म पराया माटोमा हरेक दिन मरिरहेको हुन्छु ।