Pratima KC – Mero Buddha Ko Deshma Buddha Harayeko Chha

प्रतिमा के.सी. – मेरो बुद्धको देशमा बुद्ध हराएको छ

बुद्धत्व आत्मा हो
बुद्धत्व परमात्मा हो
बुद्धत्व ज्ञानको भण्डार हो
बुद्धत्व अर्धचेतन मनको लगाम हो
बुद्धत्व काम, क्रोध, लोभ र मोहलाई
टुक्र्याउने चैतन्य तरवार हो
बुद्धत्व अन्तरआत्माको ज्योति हो
बुद्धत्व दया र प्रेम हो
अन्तत यी सबैको प्राप्ती
बुद्धत्व हो /

आमा मायादेवीको कोखबाट
पच्चीससय बर्ष पहिले
नेपालको लुम्बिनीमा जन्मिएका
सिद्धार्थ गौतम
राजा शुद्धोधनका छोरा
यशोधराका पति
राहुलका बाबु र
तिलौराकोटका राजकुमार
भारतका गयामा
बोधिसत्व ज्ञान प्राप्तीपछि
सिद्धार्थ गौतमबाट
गौतम बुद्ध
महामानब
महापुरुष
शान्तिका अग्रदुत
भनेर संसारले चिनेको बुद्ध
हाम्रो मनभित्र
हाम्रो तन भित्र छ
हाम्रो राष्ट्रमा छ
अन्तराष्ट्रमा छ
र पनि
मेरो बुद्धको देशमा
बुद्ध हराएको छ /

बुद्ध चिन्न नसक्नेहरु
बुद्ध बेचिरहेका छन
बुद्धका देशका मान्छे भन्नेहरुले
बुद्धको छातीमा बन्दुक पड्काउछन्
बन्दुकको नालमाथि शान्तिको परेवा उडाउछन्
उडेका परेवाहरुलाई
बाज र चिलहरुले
आफ्नो आहारा बनाएर
प्राप्ती ठान्छन
त्यसैले
मेरो बुद्धको देशमा
बुद्ध हराएको छ /

शान्तिका अग्रदुत बुद्धको देश
महाभारतको कुरुक्षेत्र बनेको छ
धृतराष्ट्रका सन्तानहरु बढेर
धर्मराजहरुको बनिबास लगाएका छन्
सकुनीका कपटी पासाहरुले
मनाबबस्तीमा त्रासको आगो सल्काएर
तहसनहस पारेको छ
तेरो र मेरोको पर्खालले
शान्तिको बगैचा भत्काएको छ
मानब मानवको नाता कमजोर भएको छ
त्यसैले
मेरो बुद्धको देशमा
बुद्ध हराएको छ /

अहिंसाका प्रतिक
गौतमबुद्ध नेपालीको अनमोल सम्पति हुन्
बिश्व आकाशका चम्किला तारा हुन
दुखको महासागरबाट
जीबनरुपी डुंगा खियाउदै
पार तर्न मद्धत गर्ने
मार्ग दर्शक हुन्
संसारमा फैलिदै गएको
बुद्ध धर्मका प्रबर्तक हुन्
प्रतिपादक हुन्
तर पनि
मेरो बुद्धको देशमा
बुद्ध हराएको छ /

गौतमबुद्ध तिमी
गुम्बामा
बिहारमा
स्तुपमा
माला जप्दा
माने घुमाउदा
घन्टी बजाउदा
तिमि प्राप्त हुन्छौ हुदैनौ
मलाई थाहा छैन
तर
तिम्रो बुद्धत्व
हरेक आत्मामा
ज्योतिस्वरूप चम्केको हुनुपर्छ
यस्ता आत्माहरुको देश
तिम्रो जन्मभूमिमा
शक्तिको लडाईं छ
विचारको लडाई छ
अतिनिम्न बिषयमा
बादबिबाद र प्रतिष्पर्धा छ
ज्यामितीय तरिकाले अशान्ति फैलिएको छ
बालदेखि बृद्धसम्म
घरदेखी सरकारसम्म
बेइमान बढेको छ
मानबमनहरुलाई
अशान्तिको जातोले पिसिरहेको छ
मेरो बुद्धको देशमा
बुद्ध हराएको छ /

हे महामानब
मानबजातिको सृस्टिको संरक्षण गर्न
तिमि फेरी फर्किनु पर्छ
मेरो देशमा जन्मिनुपर्छ
तिमी हरेक धर्म र भाषामा परिभाषित हुनुपर्छ
हर मानब मनमा
तिमीले पुर्जन्म लिनु पर्छ
मानब हृदय तिम्रो बुद्धत्वले धोई पखाली गरेर
दया र प्रेम जगाउनु पर्छ
हामी सबै तिम्रा सन्ततिहरु
तिमीलाई पढ्न पाउनुपर्छ
बुझ्न पाउनु पर्छ
सारा संसारले छुन पाउनु पर्छ
तिमी छिट्टै फर्किनु पर्छ
जसरी भएपनि जन्मिनु पर्छ
किनकी
मेरो बुद्धको देशमा
बुद्ध हराएको छ /