Prakash Sayami – Maunatapurbak

धेरैपछि
यो सडकमा म
अर्को एउटा समानान्तर सडक हिँडिरहेछु

मेरो उपस्थितिमा
आश्वस्त हुँदैन यो सडक
र मलाई
एक्लै छोडेर अघि लाग्छ

किनारमा लामबद्ध रुखहरु
संभवतः
मेरो एक्लोपनको मौन-धारणमा
समवेदनाग्रस्त टोलाइरहेछन्
म फर्केर हेर्छु-
सबैभन्दा माथि छन् पालुवाहरु
केही तल छन् हरिया पातहरु
र छन् सबैभन्दा तल
मेरो बैठक कोठामा न्यानो सम्´नाले भरिएका
रित्ता चियाका कपहरुजस्तै
आबद्ध कामनाले पाकेका
पहेँला पत्रावशेषहरु
अनायासै !
न्यून हुन्छ श्वासको लय
कम हुँदै जान्छ पुरानो जुत्ताको पदचाप
मोडिएर मेरो एक्लो मन
मजस्तै निशस्त्र
मेरो घरतिर फर्किन चाहन्छ

पर एक जुलुस हिँडिरहेछ
राता-निला तुलहरु छन्
र हल्लिरहेछन्
तुलमा टाँगिएर
अनगिन्ती सपनाहरु

मभित्रको रङ्गहीन सपना
विपनाको गोरेटो खोजिरहेछ- यो सडकमा
उप्किँदै गएका
ढलान र रोडाहरु
थाक्दै गएको म
उदास धावक
त्यही गोरेटो भएर
प्रवेश गर्न चाहन्छु
र साँ´ पर्नु अगावै
खोल्न चाहन्छु मेरो घरको ढोका

मौनतापूर्वक पर्खिरहेका
ती आत्मीय पुस्तकहरुमा
रङ्गाउन चाहन्छु मेरो अन्तरको स्पर्श
र एकाकार हुन चाहन्छु फेरि
मेरो पुस्कालय-घरमा ।