बिप्लव प्रतिक – मान्छे किन यात्रामा छ ?
केही रहर, केही महत्वाकांक्षा
थोरै सफलताका मुस्कान
अनि धेरै शूल छातीभरि बोकेर
म जिन्दगीको कठोर र रापिलो मरुभूमिमा
हिँडिरहेछु ।
कतिपल्ट सुनसान बाटो हिँड्दा
म डरले पल्याकपुलुक काम्दै हिँडेको सम्झना छ,
कतिपल्ट कहिल्यै नआइपुग्दा बिसौनी
डाँको छाडेर हुरुक्क रोएको याद छ ।
कस्ता बाधा हुँदा रहेछन् थाहा पाएको छु
कत्रो धैर्य टुट्दो रहेछ चाल पाएको छु,
यात्रा तय गर्दा कहिले घामले पोल्दो रहेछ
कहिले बर्सातले रुझाउँदो रहेछ
कहिले जाडोले कमाउँदो रहेछ
कतिले पछाडिबाट अङ्कुसे लगाउँदा रहेछन्
कतिले अगाडि नै जाल हाल्दा रहेछन्
छहारी दिने र माया गर्नेहरू परै बसेर हेर्ने गर्दा रहेछन्
म्वाइँ खाने र सहारा खोज्नेहरू दोधारमा पर्दा रहेछन्
सोच्दा रहेछन् र आपसमा सोध्दा रहेछन्
“यो मान्छे किन यात्रामा छ ?”
म पनि बिलकुल त्यही सोच्ने गर्छु
मान्छे किन यात्रामा हुन्छ ?
र म पनि केलाइरहेछु
मान्छे र यात्राबीच साइनो के छ ?
पुल्चोक, १ अक्टोबर १९८८