Kalanidhi Dahal – Madhuparka Madhu Jastai

कलानिधि दाहाल – मधुपर्क मधुजस्तै
(मधुपर्क माघ, २०६७)

तप्तपी मधुका थोपा तप्तपाएर तप्तप
मधुपर्क तिमी बन्छौ चेतना ज्वारको तप ।
बीसौँ हजार यात्रीका मुटुका धुक्धुकी भयौ
सिर्जना प्यारकास्तम्भ तिमी अनन्त अग्लियौ ।।
मौसमी तालमा कैयौँ छाल उच्छाल देखिए
उफ्रिए कति उन्माद मादकै साथ भेटिए ।
सबै मौसममा उस्तै कुस्ती खेली निरन्तर
विजयश्री तिमी पैरी रहेका छौ सधैँभर ।।
ताते पल्टाउँछन् पाना थोते चश्मा लगाउँछन्
नव उन्मेशीका गाना तिमीमै गीत गाउँछन् ।
आत्मको धुक्धुकी तिम्रै पानामा भर्न धाउँछन्
चोखो जिन्दगीको रन्को तिमीमै छर्न पाउँछन् ।।
बाह्र वर्ष विते एकसाथका जोड साथमा
नछिप्पी तर उस्तै छौ तरुना गाथगाथमा ।
भेटिए कतिका डोव कोरिएर पनि गए
इतिहास यहाँ कैयौँ च्यातिएर धुजा भए ।।
आँधी आए यता कैयौँ नारा सडकमा वहे
बलका बाहुली उर्ले निरीह न्यायमा रहे ।
निरीह न्यायको बत्ती तूफानमा पनि बल्यौ
अन्तर्मर्म सजाएर धप्प ! धप्प !! बलीरहृयौ ।।
निरन्तर जमेका छौ सानले मान गाजले
चेतना ज्वारका कुञ्जी पवित्रस्वाभिमानले ।
न कतै हल्लियौ दुब्लो पातलो पातझैँ भई
न कतै फेरियौ रङ्ग छेपारे जातमा गई ।।
सय पाँच भयौ ठेली फूलका पत्रपत्रका
करोडौँ वासना सुँघ्छन् अनेकौँ पलभित्रका ।
यो गौरव सधै गाथा, माथाझैँ अग्लिई रहोस्
सुख्खा जर्जरमा नित्य हिउझैँ पग्लिइरहोस् ।।
तप्तपी मधुका थोपा तप्तपाएर तप्तप
नानीदेखि बूढा वानी सम्म होस् फैलने जप ।
समाधि मग्न साधुका आँखाझैँ टल्किई रहोस्
मधुपर्क मधुजस्तै पवित्र रसमै वहोस् ।।