Simanta Lamichhane – Ma Ra Duniya

सीमान्त लामिछाने – म र दुनियाँ

म हिमाल भएर हाँसे
दुनिया को नज़रमा म धेरै चिसो भए
म आकाश भएर फैलिएँ
मेरो विशालतामा प्रश्न चिन्न उठाइयो
म प्रेमी भएँ
मलाई भाबुक भनियो
मैले नेताको बिरोध गरे
मलाई प्रतिगामी भनियो
मैले झुटको बिरोध गर्दा
मलाई नै झुटको मतियार ठहर्याईयो
म विदेशिए
मलाई भगुवा भनियो
मैले कसैसंग मारपिट गरिन
मलाई नामर्द भनियो
कसैलाई ठगिन
कमजोर भनियो
म यस्तै बस्त्राभुषणले सजिदै गएँ
आज भोलि मेरो पहिचान यहि बस्त्राभुषण भएका छन्
बस्त्राभुषण भन्दा भीत्रको म कहिले देखेन यो दुनियाले
यी बस्त्रहरु मैले कहिले चाहिन
तरपनि
यी मेरो छाया जस्तै मसंग टाँसीरहे
न यीनलाई उतारेर फाल्न सक्छु
न त जलाएर जलौनै

यीनै झुटा बस्त्र पहिरिएर
म हरेक बिहान उठ्छु
हरेक रात सुत्छु
म झुट जिउँछु
तर पनि म जिउँछु
त्यो बिहानीको प्रतिक्ष्यामा
जब
सुर्यले म भित्रको
मान्छेलाई चिनेर ढकढकाउने छ मेरो घरको ढोका
अनि यी सम्पूर्ण बस्त्रहरु झर्ने छन् मेरो जिउबाट
शिशिरमा रुखबाट पातहरु झरे झैँ
अनि म नयाँ पालुवाहरू हाल्ने छु
सक्कली सुवास छर्दै
नयाँ उत्साहसंगै
त्यो दिन म हिमाल भएकोमा डाहा गर्ने धेरै हुनेछन
त्यो दिन म आकास भएकोमा रीस गर्ने धेरै हुनेछन
त्यति हुँदाहुँदै पनि
म, म नै हुनेछु
ममा कुनै परिवर्तन हुनेछैन
परिवर्तन हुनेछ
त मात्र यो दुनियाको चस्मा

– अमेरिका