Min Dwandi – Ma Manchhe

आजभोलि मैले सपनीमा
मेरो आकाशका ताराहरूलाई
हुरीले झारेका आरूका बतिलाहरू झैं
निश्तेज जमीनमा छरिएको देख्न थालेको छु
कतै, विपनीमा पनि त्यसैगरी
मेरो आकाशका ताराहरूलाई
जमीनमा झारिने त होइन भन्ने संत्रासले
म पत्र–पत्र भिजेको छु
म मान्छे,
यसबेला, ग्रह–ताराहरू
जमीनमा खस्तैनन् भन्ने वैज्ञानिक प्रमाणहरूद्वारा
मैले आफ्नो चित्त बुझाउन सकेको छैन ।
धुजा–धुजामा विभाजित
जमीनको एक टुक्रामाथि उभिएर
वायु र प्रकाशलाई पनि
अंशवण्डा गरिने संभावित दृश्य
हेरिरहेको छु म
ग्रह–ताराहरूमा समेत
आ–आफ्नो छाप लगाउने होड
शुरू होला झैं देखिरहेकोछु म
म मान्छे,
यसबेला ग्रह–ताराहरू
मेरै जन्मपत्रीमा घुमिरहेछन् भनेर
मैले आफ्नो चित्त बुझाउन सकेको छैन ।
प्रत्येक रात
भोलि म उठ्नु अगावै वायुमण्डलमा
न्यूटन प्रदुषण
शुरू भएको नहोस् भन्ने कामना गर्दै
बिछ्यौनामा सुत्छु
सपनामा पड्केका शस्त्रास्त्रहरूका
भयंकर गर्जनहरूले
निंद नपुग्दै तर्सेर उठ्छु
म मान्छे,
यसबेला, विश्व शान्तिका लागि
थुप्रै शीखर वार्ताहरू भएका छन् र हुँदैछन् भनेर
मैले आफ्नो चित्त बुझाउन सकेको छैन ।