यज्ञेशध्वज कार्की – म जङ्गली बन्न चाहन्छु!
ईश्वरको सृष्टिमा
मानिसले टाङ् अडाएकोले
वसुदेवझैँ जीवनको कैदी बनेको छु,
आधुनिक्ता मेरो थुनुवा हो,
सभ्यता मेरो कंश हो,
मानिस मेरा दूारपाल हुन्,
त्यसैले मुक्तिको खोजिमा
म जङ्गली बन्न चाहन्छु!
आफ्नो देशको एक मुट्ठी माटो
हातमा खेलाउन चाहन्छु,
भूमीमा बलरामको हल चलाउन चाहन्छु,
बूढानीलकण्ठको खोजीमा
जानकी जन्माउन चाहन्छु!
म जङ्गली बन्न चाहन्छु!
म त्यहाँ जान चाहन्छु,
जहाँ मेरी किताब प्रकृती खुद हओस्,
भोटेकोशीको कलकलता र गौरीशंकरको आलीशानताको पानालाई
हावा झुल्दै झुल्दै आई पल्टाँउन्,
म भीरको डीलमा बसी,
मच्चिदै मच्चिदै आएको चिसो चिसो स्याँठलाई
अन्तरंगमा स्वागत गर्न चाहन्छु,
आफ्नो उद्धेश्य शीतल चन्द्रमामा ताक्न चाहन्छु,
म जङ्गली बन्न चाहन्छु!
शालीन पहाडको टाकुरामा,
हिउँ पग्लेर बगेझैँ,
ओरालीमा बिछ्याइएको सल्लाको पातका गुन्द्रीमा
हुस्सुको च्यादर ओडेर
गुराँसको जरा समाति, बेलपत्रको झरीसंगै
चिप्लेटी खेली
सललल बग्न चाहन्छु।
रातमा ताराहरु जिस्कँदै गलगल हाँसेको,
कहिलेकाहीँ,
पृथ्वीमा झर्न व्याकुल भई हाम्फालेको,
बादलसँग लुकामारी खेली
सन्ध्यामा,
सूर्यदेवको रथको गड्गडाहट्सँग तर्सितर्सि
कोलाहलमा आकाशमा लुक्न गई
साँझको प्रतीक्षा गरेको,
यो दिनहुँको ताराहरुको उपद्रव
म नियाँल्न चाहन्छु,
म ब्रह्माण्ड अँगाल्न चाहन्छु,
म जङ्गली बन्न चाहन्छु!
ए सभ्यताको परिभाषा बदल्नेहरू!
सुन! सुन!
कृत्रिमताको पाठशाला खोल्नेहरु,
तिमीहरु पनि सुन!
म टेलिभिजन होइन,
हावाको सुस्केरामा नाच्ने
पातपतिंगरका मुज्रा हेर्न चाहन्छु,
आणविक्ताको चमत्कारसँगै हरियालीको बलात्कार होइन,
हाहाकार होइन,
बागमतीको सत्कार, सृष्टिको जयजयकार! सुन्न चाहन्छु,
मानवको अमानावीयाताको कारण खोज्न चाहन्छु,
यदि सभ्यताको समाज यही हो भने
म जङ्गली नै बन्न चाहन्छु!