घरमा फोन गरें
सानो बच्चाले भन्यो-
“बाबा आजकल लक्की कुकुर
भुक्दै भुक्दैन ”
पछाडिबाट गृहमन्त्रीले थपिन्-
“यसलाइ पनि लोकतन्त्र लाग्या छ।”
सरकारी कार्यालयको एउटा काम ‘थ्यो
श्रीमतीलाई जिज्ञासा राखें गर्न सक्यौ ?
उनले जोसिँदै भनिन्-
“आजभोलि म पनि नडराउने,
बोल्नसक्ने भा’छु
गएर कठालो समात्छु
कसरी नगर्ला काम
नखाईकन घूस ।”
अर्को दिन फेरि फोन गरें-
के भयो बुझ्न अर्हाएको काम
पड्किदै उनले सुनाइन् कहानी
कर्मचारीलाई हप्काइ छिन्
लोकतन्त्र आ’ थाहा छैन
घूस खान डर छैन भनी तर्साइछिन ।
लोकतन्त्र तपाईंलाई मात्र आ’
हामी जुलुस किन गा’ थाहा छैन
तिमीहरुलाई माओवादीको नि डर छैन
उनीहरुलाई महिनाबारी बुझाउनु पर्ने थाहा छैन
घूस नखाई काम गरे
ढोकामा धर्ना बस्ने धम्की दिन्छन्
उल्टो कर्मचारीले उनलाई कारबाही नगरे
भोलिदेखि ताला बन्द गर्ने
ऐक्यबद्धता व्यक्त गरेछन्
उस्तैपरे चक्काजाम गर्ने धम्की दे’छन् ।
लोकतन्त्रको यो सानो गाथा सुनेर
एकछिन हाँसु कि रुनु भो
घूस नखाई कामै नगर्ने झनै
मजबुत संस्कार विकास भो।
आफू परें लोकतन्त्रको परिभाषा
यस्को मर्म लेखिटोपल्ने प्राणी
आफ्नै सानो कामको यो महाभारत भो
नेता परे लाज पचाएका
अनैतिकताका भण्डारेका नाइके
‘एक बुथ सय युथ’
खुलमखुल्ला बुथ कब्जा गर्ने कुरा
अर्कातिर बन्दुकको धम्की
सक्नेले प्रहरी प्रशासनको दुरुपयोग गर्ने निति
जनताले मतै नदे’ पनि
सांसद र मन्त्री हुनैपर्ने दुर्नियित
डर त्रास र धम्कीमा लादिएको
जनता जनार्दनको यस्तै हो
लोकतन्त्र को उपलब्धि
कर्तव्यप्रति सधैं विमुख
अधिकारको लागिमात्र उन्मुख
यस्तो विमती नीतिले
कसरी होला जनता र देशको उन्नति।