Bairagi Jetha – Lal Bahadur Lai Samjhiyera

वैरागी जेठा – लालबहादुरलाई संझिएर
(मधुपर्क २०६६ भदौ)

लालबहादुरले
समाएर पड्काइएका गोली चुमेर
पढ्छ माक्र्सवाद
गरिब किसानको छोरो
एउटा सिपाही भएर
भयङ्कर भुँवरीमा
होमिएर सहिद बन्छ
एउटा गुराँस फुलाउन
पत्थर चट्टान छेडेर
फक्रिन्छ
न्यायका चिमाल
हिमाली गाउँ
वनमारा फाँडेर
ऊ अग्राख रोप्दै छ
एउटा सुन्दर फाँटमा
काँस र खरको झाडीमा आगो झोसेर
मानव सभ्यताका लागि
सदाझैँ
युद्ध लडिरहन्छ
एउटा मानव जन्माउन
इमानदार भएर
वर्गीय समाजमा
मोर्चामोर्चा बनाउँदै
नेपाली पहिचान खोज्छ
गरिब किसानको छोरो
जीवनलाई थाती राखेर
माइन चुमेर हिँड्छ
हजारौँ जङ्घारहरू
टकटक आवाजमा
शत्रुका किल्ला कब्जा गर्न
रात विरात भन्दैन ऊ
एकनास
माइन बोकेर
लालबहादुरझैँ
राष्ट्रिय आस्थामा रमाइ

पहाडको टुप्पोमा पुग्न खोज्दै
मानवीय गीत गाउँछ
ढाक्रेले गाएझैँ गाउँछ
मेसिनकगनसँग
जुधेका कथाहरू सुनाउँछ
लालबहादुरझैँ
मुटु छेडेर
भलभल रगत बग्दा पनि
आत्तिदैन
निरन्तर लडिरहन्छ
राष्ट्रियताको झण्डा फरफराउँदै
लालबहादुरजस्तै
साहस झिकेर
नेपाली माटो जोगाउन
हातका ठेला हेर्दै
नदीको वेग भएर

वर्गीय युद्ध लडिरहन्छ
सुन्दर गुराँस फुलाउन ।

-नुवाकोट