इन्द्र नारथुङ्गे – कसले सुनायो तिमीलाई यो झुटो कुरा
(पूर्ण संघीयताको लागि कविता आन्दोलन)
ठाउँठावै खाल्डा खुल्डी
ठाउँठावै थुम्का थुम्की
कतै तिर्खाले ब्याकुल बालुवा
कतै पानीले जलथल जरुवा
समाहा राख्न पनि नमिल्ने
जमाहा फाल्न पनि नमिल्ने
अक्करे एउटा गह्रालाई
आली थपेर केही ठाउँमा
केही गह्राहरुमा विभाजन गर्न लाग्दा
लालपूर्जाबाटै नयाँ गह्राहरु अलग हुन्छन् भनेर
कसले सुनायो तिमीलाई यो झुटो कुरा ।
हलगोरु छिर्नै नसक्ने फोक्टाहरु
कुलोले भेट्दै नभेट्ने चोक्टाहरु
मैले बनाउँछु भनेर कहाँ भने
हो
अलिकती हेरेर होचोअर्घेलो
अलिकती खोजेर धुलो-चिम्ट्याईलो
माटो बराबर नभएपिन
बाटो बराबरीनै पुग्ने
यस्तै गह्राहरु छुट्याउन लाग्दा
छुट्टिएका गह्राहरुमािथ
छिमेकीले आँखा गाड्छन् भनेर
कसले सुनायो तिमीलाई यो झुटो कुरा ।
गह्राको वर्तमान संरचनालाई हेर त
के उस्तै छन् पूर्व र पश्चिम
के उस्तै छन् उत्तर र दक्षिण
केन्द्रबाट पूर्व लाग्दा भिरैभिर
केन्द्रबाट पश्चिम लाग्दा भिरैभिर
छुँदै नछोईने उत्तर
धुँदै नधोईने दक्षिण
हलगोरु साउन पनि नमिल्ने
पानी लाउन पनि नमिल्ने
यो अक्करे गह्रालाई
आली हालेर केही ठाउँमा
मात्र माटो विभाजन गर्न लाग्दा
मन टुकि्रन्छ भनेर
कसले सुनायो तिमीलाई यो झुटो कुरा ।
धेरै भयो माटोले अस्तित्व गुमाएको
पहिरोले पुरेर पुरानोलाई
इतिहास नामेट हुनै लागेको बेला
सहसा जागेर सपनाहरु
आफैलाई खोज्न थालेपिछ
तिमीले बाटो देखाउनु पर्नेमा
उल्टै अतालिन्दै छौ किन
माटोले मागेको त मात्र पहिचान हो
रातोलाई रातै भनिनु पर्छ
कालोलाई कालै भनिनु पर्छ ।
एउटा सिङ्गो गह्रा
केही गह्राहरुमा बिभाजन भएपिछ
गह्रा-गह्रा बीचमा
पानी बाराबार हुन्छ भन्ने
सायद तिमीले सुन्यौकी
त्यसैले त भन्न सक्यौ
साकेला र मारुनी एकै ठाउँमा अटाउँदैन
रोधी र भैलेनी एकै गाउँमा गाइन्दैन
गुम्बा मस्जिद र मन्दिर सँगसँगै धाइन्दैन
भन
कसले सुनायो तिमीलाई यो झुटो कुरा ।
ए ! मान्छे
हल्लाहरुको पछि लागेर
अब पनि परिवर्तनलाई कहिलेसम्म रोक्ने
यथास्थितीलाई कतिाजेलसम्म बोक्ने
कतै पानीले जलथल जरुवा
कतै तिर्खाले ब्याकुल बालुवा
समाहा राख्न पनि नमिल्ने
जमाहा फाल्न पनि नमिल्ने
यो अक्करे गह्रालाई
आली हालेर केही ठाउँमा
मात्र माटो विभाजन गर्न लाग्दा
मन टुकि्रन्छ भनेर
किन उल्टै मनहरु भाँची रहेका छौ
महोदय
मैले थप्न लागेको आली
पनामा होईन युरेसिया होईन
रेड क्लिफ लाईन वा मेक मोहन लाईन पनि होईन
प्यारालल-३८ त झन् हुँदै होईन
मात्र गंगाले पछ्याएको बाटो
ब्रम्हापुत्र वा नाईलले छोएको माटो
कोशी गण्डकी र कर्णालीले बनाएको टाटो जस्तै
अलगअलग बहावको अलगअलग क्षेत्र मात्र हुनेछ
जहाँ
रोधीँ र हाक्पारे सँगसँगै गाउँने छौं हामी
होलीमा रङ्ग सँगसँगै लाउँने छौं हामी
मन्दिर मस्जिद गुम्बा र साकेलाथान
सँगसँगै धाउने छौं हामी
हो
मनहरु बराबर भएपिछ
कुलेसोले गह्राहरुलाई बराबर छोएपिछ
आलीहरु सीमा बन्दैनन् महासय !
यो गलत छ कसैले भन्दैनन् महासय !