Shiva Prakash – Kaida Kanun

यो कस्तो काइदा कानून !
यसको अर्थ तिनैले जानुन्,
जसका लागि जसले बनायो
‘कानून’ भनेर न्वारान गरायो ।
कुन काइदाको कानून यो !
कसैलाई देखेर हरदम भाग्छ,
कसैको यसले गर्धन भाँच्छ ।
कसैसंग यो कानून
लरलरी काम्छ
लग्लगी डराउँछ,
उही कानून कसैलाई
थरथरी कमाउछ,
धरधरी रुवाउँछ ।
त्यही कानून
कहिले अति लूते बन्छ
टाङ्मुनी छिर्छ,
ठालूका सामू तालू टेक्छ ,
उही लुते कानून
कहिले साँढ बन्छ
सोझासाझा लालू/कालूलाई
छेर भालू छेर बनाउँछ,
टाउको टेकाउछ,
तोरीका फूल देखाउँछ ।
त्यही कानून
लाटा/निर्धाका लागि
पिंडुलामा बजाउने भाटा भा’छ,
बाठा/बलियाका लागि
शिरमा ओढाउने छाता भा’छ ।
यो कस्तो काइदा कानून,
जस्ले बनाए तिन्ले जानुन् !