डा. मल्लिका शाक्य – जन्म-दिनको जन्म
नाम – रूप
उदाउँदै – अस्ताउँदै छायाँहरु बाँचिरहेछन् मायाजाल
बाँच्नु भुमरी हो
असमापित, अनाहुतित, अनुत्कर्षित
एक्कासि म भित्रको खेताले तत्व
फुत्त निस्कन्छ
र कूँद्छ एउटा देउता
त्यसलाई म मेरो ब्रीफकेसमा साँच्दछु
बेला-बेलामा हाजिर गराँउछ आफूलाई त्यो
औपचारिकतावश
अध्यागमन कक्षहरूमा
चिन्तन-कोठीहरुमा
भोज-भतेरहरुमा
‘म’ पात्रको भूमिका खेल्छ देउता
उसको चहक, कहिलेकाहीं मलाई रुचाउनेहरुको मायासँग मिल्छ
अरु बेला दालचामलको मोलसँग
छायाँका बगालहरुसँग
अथवा खेताला हुनुको नियतिसँग
म सोच्छु, देउता मेरो मान्छे
देउता भन्छ, म मान्छे देउताको
उसको नामको सार मैले बोलाउनुमा त छ, न कि बिर्सनुमा
मेरो रूपको अर्थ उसलाई बनाउनुमा छ, न कि भत्काउनुमा
चल्ला र अण्डाको प्रश्न जस्तै
सनातन चलिरहन्छन् भुमरीहरु
असमापित, अनाहुतित, अनुत्कर्षित
त्यसकारण त हो खेताले तत्वमा देउता चढेको
बर्बराएको, हन्-हनाएको
अनि आजकै जस्तै कुनै एउटा दिन तोकेर
बकेको –
आ, मैले जन्म दिएँ तँलाई
जा, संसार आरम्भ भयो तेरो
बाँच् र मर्
कोर् एउटा कथा जसमा तेरो मुक्तिको मिठास होस्
कूँद् एउटा देउता जसमा तेरो अस्तित्वको आकार होस्
मेरो जन्मदिनको पहिलो आयाम – आएर भावीले लेख्छ निधारमा
मेरो जन्मदिनको दोस्रो आयाम – फूँकेर समाज काढ्छ मेरो नाम
मेरो जन्मदिनको तेस्रो आयाम – प्रेम
चौथो आयाम – विरह
पाँचौ आयाम – समचित्तता
छैठौं आयाम – जर्जरता
सातौं आयाम – विश्राम
अहा! सांच्चिकै स्वादिलो आख्यान!
भुलभुलैया भन्दा भुलिलो
मायाभन्दा मीठो
जा, तँलाई माफ गरें देउता मैले, आजलाई।
प्रेटोरिया, दक्षिण अफ्रिका