Min Dwandi – Hansena Din Raat Ra Bihana

रात कहिल्यै हाँसेको देखिएन
दिन पनि कहिल्यै हाँसेको देखिएन
कम्तिमा पनि बिहान त हाँसेकै हुनुपथ्र्यो
तर अपशोच !
बिहान पनि कहिल्यै हाँसेको देखिएन ।
अन्धकारको आडमा
नाच्न थाल्दछन् निशाचरहरू
कालिमा पोतिएको वातारणमा
आला भूतहरूको उत्सव शुरू हुन्छ
अनि सर्वसम्मतिबाट कालो पर्दाभित्र
भोलिको बिरूद्ध षडयन्त्र रचिन्छ
थाहा पाउँदा–पाउँदै पनि
हाँसोस् रात के हाँसोस्
त्यसैले, रात कहिल्यै हाँसेको देखिएन ।
उज्यालो भएर पो के गर्नु ?
अँधेरो मै बनेका जाल–मालाहरू
दिनको घाँटीमा पासो बन्दछन्
अनि, उज्यालोमा त मान्छेहरू
जिब्रो काटिएका देखिन्छन्
हात–खुट्टा बाँधिएका देखिन्छन्
अनि, अभावको व्रम्हाण्डमुनि
कच्याक्–कुचुक्क भै पिसिएका देखिन्छन्
यस्ता अप्राकृतिक दृश्यहरू भोग्दा–भोग्दै
हाँसोस् दिन के हाँसोस्
त्यसैले, दिन कहिल्यै हाँसेको देखिएन ।
निकै विवश छ आजकल बिहान पनि
अँध्यारोकै कोसेली लिएर
बिहान जन्मन्छ
अनि, षडयन्त्रको गोप्य पत्र बन्दी खाम
उज्यालोको हातमा थमाइदिन्छ
नचाहँदा–नचाहँदै पनि
अन्धकारले चढ्ने घोडा
अनि, षडयन्त्र ओसार्ने हुलाकी बन्न
बाध्य भएको बेला
हाँसोस् बिहान के हाँसोस्
त्यसैले, बिहान कहिल्यै हाँसेको देखिएन ।
रात हाँसेको देखिएन
दिन हाँसेको पनि देखिएन
कम्तिमा पनि बिहान त हाँसेको हुनुपथ्र्यो
तर अपशोच
बिहान हाँसेको पनि देखिएन ।