हेमन्त परदेशी- एउटा सच्चा नवीनताको जन्म दिन चाहान्छु
आफ्नै अन्तर्बोधी अवचेतनको लम्बेतन शल्यक्रिया पछि
आज मैले मानसिक अपहिजताबाट उन्मुक्ति पाएको छु ।
अर्थात अभाव , गरिबी , कुपोषण केहि छैन अब म संग ।
त्यसैले अब मैले जीवनको निस्सारता महसुस गर्नु पर्ने छैन ,
न त फिक्का र उधारो जीवानुभूतिमा –
पटक पटक आत्महत्याको असफल प्रयास नै गर्नु पर्नेछ ।
हो अब म भन्छु – आत्महत्या गर्नु सृष्टिलाई मार्नु हो ,
र सृष्टिलाई मारेर मोक्ष प्राप्त हुँदैन ।
अर्थात मोक्षको नाममा रुक्षता र निराकृतता अस्वीकृत छन् अब म बाट ।
किन कि १ र १ , २ मात्र होइन ११ पनि हुन्छको गणितीय सिद्धान्तमा-
मैले जीवनको सार्थकता देखेकोछु ।
त्यसैले त भास्कोडिगामा र कोलम्बस बन्नु अघि –
मोहेन्जोदाडो र मेसोपोटामियाको परिभ्रमण गरिरहेकोछु म ।
अनुभूत गर्छु आफ्नै अवचेतनले ,
मनश्चक्षुको वाचलता भित्र बिशाल पिरामिडहरु ठोक्किन्छन् ,
नियाँल्छु , सुम्सुम्याउँछु अनि पटक पटक ठम्याउँछु ।
आहा ! कस्तो देदीप्यमान र उद्विप्त मानव सभ्यताका अरक्षणीय पिरामिडहरु ?
आफ्नै अभ्यन्तरिक चित्तभ्रममा नतमस्तक बन्छु म ।
थाहा पाउँछु –
सभ्यता रुख होइन , जो हरेक सालको पालुवा फेराइ संगै बुढो होस् ,
अनि सभ्यता थोत्रो घर पनि होइन , जो चाँहदैमा सजिलै भत्काउँन सकियोस् ।
त्यसैले साल फेरिँदैमा बुढो हुनुलाई अस्वीकार गर्छु म ,
अनि पुरानो हुनुको परिभाषा भित्र सभ्यताको नवीनता खोज्छु म ।
किन कि मेरो अन्तर्बोधी अवचेतनले भन्छ –
बुढो र पुरानो हुनलाई नवीनताको जन्म हुनुपर्छ ,
रुखको पालुवा फेरिए जस्तै अथवा नयाँ घडेरीहरु सम्याए जस्तै ।
तर मलाई थाहा छ आयु छोट्टिनुलाई नै बुढ्यौली ठान्नेहरु ,
अर्थात पुरातन माथिको नवीनतमको दिग्बिजय ठान्नेहरु ,
सधैँ झैँ यो साल पनि त्यसरी नै उल्लासित हुनेछन् , उमङ्गित हुनेछन् –
अनि नयाँ सालको आगमन संगै –
अरुको बुढ्यौलीमा आफ्नो जवानीको बिजयोत्सव मनाउँनेछन् ।
त्यसैले दिगभ्रमित समयको सुरुआत हुनु अगावै ,
अर्थात कुपोषित मानसिकताहरुले इन्क्लाबका नाराहरु उराल्न अगावै ,
म आफ्नै अन्तर्बोधी अवचेतनमा सभ्यता संग संभोग गर्न चाहन्छु ,
स्खलित हुन चाहान्छु ,र एउटा सच्चा नवीनताको जन्म दिन चाहान्छु ।