Dipendra KC – Euta Rahar Chha

दीपेन्द्र के.सी. – एउटा रहर छ

धेरै रहर त्यागिसकियो
त्याग्न नसकेको
एउटा रहर छ ।

दशगजामा-
उताबाट यतातिर सारिएको
जँगे पिलर
सुगौली सन्धिकै पालाको
दक्षिण डोवमा
सार्ने रहर छ,
त्यति गर्दा बरु
दक्षिणबाट आएको
तातो गोली खाएर
मर्ने रहर छ ।।

धेरै रहरहरु त्यागिसकियो

सीमाका
चेलीवेटी र पोकापन्तुरामाथी लाग्ने
गिद्धे आँखाहरु निकाल्ने
साँस्कृतिक रहर छ,
जवर्जस्ती
यता फर्काइएका बाँधहरु फोडेर छ्यालव्याल
दुष्टहरुका वस्ती
बढार्ने रहर छ,
त्यति गर्दा बरु
त्यही भेलमा मिसिएर
हराउने रहर छ ।।

धेरै रहरहरु त्यागिसकियो

षडयन्त्र र कमजोरीमा
खेलिएका सन्धिहरु
खारेज गर्ने रहर छ,
२१ औं शताव्दीको नयाँ सन्धि
दिल्लीमा होइन
काठमाडौंमा वसी
गर्ने रहर छ
त्यति गर्दा बरु
मुक्ति युद्धमा
शहीद हुने रहर छ ।।

धेरै रहर त्यागिसकियो

त्याग्न नसकेको
अर्को एउटा रहर छ
पूर्व, पश्चिम, उत्तर, दक्षिण
जताततै
बराबरी हुने रहर छ .

खै किन हो
यी रहर त
जसरी पनि
पुरा गर्ने रहर छ ।

बागलुङ, हाल ः ओस्टण्डे बेल्जियम ।