कृष्ण सेन इच्छुक – एउटा गाउँलेको डायरी
(इतिहासको यस घडिमाबाट)
हिजो छिमेक पनि विरानो-विरानो लाग्थ्यो
आज संसारै आफ्नो लाग्छ
हाँस्नुपर्दो रहेछ खुसीले मन
मन हाँसे संसारै हाँस्दो रहेछ
मुटु अब पहिले जसरी दुख्दैन
छाती अब पहिले जस्तो पोल्दैन
गहभित्रै सुकेको पीडाको आँशु
पहिले जसरी अब भक्कानो फुट्दैन
लाग्नुपर्दो रहेछ मनभित्र घाम
संसारै उज्यालो देखिदो रहेछ
दुःखी र गरिबको सुखको दिन ल्याउन
गरिब र दुःखी नै एकजुट भएर लाग्दा
तिनै प्रियजनहरुको सम्झनामा
गाउँको नाम नै
शहीद गाउँ भएको छ ।
र, शहीदहरुको हार्दिक सम्मानमा
निर्माण भएका छन्
असंख्य गेट र स्मारकहरु
डाँडा, थुम्का, लेक र पहाडहरुका नाम
बस्ती, भञ्ज्याङ र चौतारीहरुका नाम
शहीदहरुका नाममा फेरिएका छन्
गाउँ फेरिएको छ
गाउँलेहरु फेरिएका छन्
र, आस्थाको शिखर मन
झन् अग्लो भएर चुलिएको छ ।
बौलाहा हात्तीझैं
धेरैचोटी बौलायो दुश्मन
र, धेरैचोटी गाउँमा आक्रमण गर्यो
कराइरहेको छ धुरीबाट
बैरीहरुको पाप बेसरी
शहीदहरुको रातो रगतले
पापीहरुको घिनलाग्दो चिहान खनेको छ
गाउँमा आउँछन् नयाँ साथीहरु
भेटघाट र कुराकानी गर्छन्
आफन्तले झै सुखदुःख बाँड्छन्
दुःखसुखमा साथ दिन्छन्
सहयोग दिन्छन्/सुरक्षा दिन्छन्
र, घर-घरमा र्सवप्रिय बनेका छन्
आधा दशक
धेरै हण्डर र ठक्कर खायो गाउँले
आधा दशक
धेरै आँधी हुरी र तुफानहरु झेल्यो गाउँले
टिन ठटाएर धपाइएको बाली मास्ने बाँदरहरु जस्तै
भागेर गएका छन्
दुश्मनहरु गाउँबाट अहिले
उठीबास लागेका गाउँलेहरु
फेरी गाउँमा फर्केका छन्
नयाँ दिनको नयाँ घाम उदाएको छ
र, नयाँ हावाको नयाँ लहर
चलिरहेको छ गाउँमा अहिले
महिलाहरु गाउँमा
चुलो चौकोमात्र गर्दैनन् अचेल
केटाकेटीहरु गाउँमा
डण्डीवियो मात्र खेल्दैनन् अचेल
बुढाबुढीहरु गाउँमा
काल पर्खेर मात्र बसिरहँदैनन् अचेल
काललाई समेत जितेर
नयाँ जीवन र नयाँ भविष्यको
सुन्दर अभ्यासमा लागिरहेका छन्
फूलिरहेको गाउँको आँखामा लालुपाते
छातीमा लालीगुराँस फक्रिएको छ
साहसको शस्त्रागारमा
फेरिएको छ संकल्प
विवेकको बारुदखाना सल्किएको छ
महान एकताको विशाल भावले
संकिर्णताको जिर्ण पर्खाल भत्किदै गएको छ
हिजो छिमेक पनि विरानो-विरानो लाग्यो
आज संसारै आफ्नो लाग्छ
हाँस्नु पर्दोरहेछ खुसीले मन
मन हाँसे संसारै हाँस्दोरहेछ
उदाउनु पर्दोरहेछ मनमा चेतनाको घाम
संसारै उज्यालो लाग्दोरहेछ
०५७ कार्तिक १८ राजविराज कारागार
इच्छुक रचनावली (इतिहासको यस घडिमा) बाट