सखारै सखारै
एक बिहान तिमी यहाँ आएका थियौ
कलिलो बिहानीको अनुहार लिएर
तर, साँझजस्तो आवाज बोकेर ।
आउनेबित्तिकै केही दूरी उत्तरतिर दौडिएका थियौ
केही दूरी दक्षिणतिर दौडिएका थियौ
र, फर्केर मान्छे र मान्छेको विवेकबीच टक्क उभिएका थियौ ।
अलिकति पानी बालुवामा खन्याएका थियौ
अलिकति आगो
समुद्रमा मिल्काएका थियौ ।
आधाजति मृत्यु बोकेर आएका थियौ
आधाजति जिन्दगी बोकेर आएका थियौ
आधा भूत र आधा भविष्य बोकेर आएका थियौ
र, वर्तमानलाई उन्मुक्ति र सन्त्रासबीच भुइँकुहिरोको बन्दी बनाएका थियौ ।
त्यसपछि अस्ताचलको घामजस्तै
विदाइको हात हल्लाउँदै गएका थियौ
जाँदा हाम्रो घर-आँगनमा
मृत्यु र जिन्दगीको दोभान छाडेर गएका थियौ
जिन्दगी र मृत्युबीचको दूरी त तिमीले नै लिएर गएका थियौ ।