मोतीराम भट्ट – दिनको पचास त के
दिनको पचास त के हजार पटक् कती समझाउनू
म गरीबको घरमा हरे तिमीले यसोरी नआउनू ।
रिसमा थियौ कि खुसी थियौ, म त केही जान्दिनँ के थियौ,
कि यसो थियौ, कि उसो थियौ मनमा कसोरी बुझाउनू ।
नत आ भनूँ, नत जा भनूँ म यसो भनूँ कि उसो भनूँ
तिनीको मिजाज म के भनूँ, कतिसम्म विन्ति चढाउनू ।
वय सोह्रको मन साठिको छ र पो गजब छ ति प्यारिको
मुखको खाव छ चन्द्रको, ननिको छ मिस्सि लगाउनू ।
मनसुब पुग्नू परै रहोस् दरसन् पनि छ कठिन जहाँ,
अब बाँचनेछु मता कहाँ तिनीलाई यति सुनाउनू ।
तिमि बिर्सि आलत क्यै जनी, मत संझदो छु अझै पनि,
मुख भित्र पान चपाउनू, अलि हाँसि हाँसि हँसाउनू ।
मणि हो भनूँ त न झल्कँने बिजुली भनूँ त न चंकने
आइना भनूँ त न टल्कने उपमा कसोरी जुराउनू ।
तिमि पर्खि पर्ख भनी भनी कन जानू, फेरि नआउनू,
खपि सक्नु छैन मलाइ ता, तिमिले यसोरि छकाउनू ।
सुन है सबै हरिको हुकुम् म हुकुम् भनूँ कि भनूँ जुलुम्
अघि जो भयो उत भै गयो तर फेरि मोति न लाउनू ।