Bimal Nibha – Dincharya

ऊ बिउँझन्छ
र उज्यालोतिर ढाड फर्काएर
भन्छः
शुभप्रभात !
म तीव्र यन्त्रणामा
जागराम छु
दुई आँखाहरु जलिरहेका छन्
मेरा
र चुप छु
यसरी उसको र मेरो
दिनचर्या
एकसाथ आरम्भ हुन्छ
यद्यपि ऊ मेरो दौंतरी होइन
न हामीले कहिले
एक–अर्कासँग हात मिलाएका छौं ः
के छ, सन्चै छ ?
दुई वर्षपछि
एकाएक ऊ संसद्मा पुग्छ
र पास गर्न थाल्छ
थुप्रै थुप्रै विधेयकहरु
करको
नदीनालाको
विदेशी सम्बन्धको
र शान्ति–सुरक्षाको
म भने आजपर्यन्त
बसको हुलमा थिचिएको छु
दुखिरहेछ मेरो पिँडौलाको
मासु
र थकानले चूरचूर छु म
उसको कैलो रङ्गको
जुँगाका रौंहरु
हल्लिरहेका छन् मजाले
र म अहिलेसम्म
अँध्यारो कोठामा कैद छु
बाहिर सडकमा बन्दुकधारी
प्रहरीहरु
ओहोर–दोहोर गरिरहेका छन् ः
खबरदार ! खबरदार !
अचानक ऊ हाई गर्छ
झुसिलो डकार लिन्छ
र आफ्नो गुप्त प्रदेशमा हात लगेर
कन्याउन थाल्छः
ख्वारख्वार
उसमा र ममा यही फरक छ
ऊ संसदीय अभ्यासमा व्यस्त छ
र म उसको अश्लील तिघ्राको
कापबाट उम्कन
छटपट–छटपट गरिरहेछु
(२०५०)