Chanki Shrestha – Desh Lai Bagauna Tamtayar Yi Nadi Haru

थुप्रैथुप्रै मुहानहरू
भरिभराउ छन् रगतले
चारैतिरबाट बग्दै आएका छन्
चारैतिर बग्दै गएका छन् यहाँबाट रगतका नदीहरू ।

बगैँचा हुँदै
कुलो-कुलेसो हुँदै
आली र कान्ला हुँदै
जंगल, बुट्यान र रूखका टोड्का हुँदै
मुलायम फूल र कोपिलालाई रुझाउँदै
बगेको छ साना बालकहरूको रगत
वृद्ध मान्छेहरूको रगत
कलिला युवतीहरूको रगत ।
बढदै बढ्दै आइरहेछन्
बढ्दै बढ्दै बढ्दै गइरहेछन्
रगतका यी खोलाहरू
रगतका यी नदीहरू, सागरहरू, महासागरहरू
सिंगै देशलाई बगाउन
तम्तयार भएर बढ्दैछन्
बढ्दै बढ्दै बढ्दै आइरहेछन्
बढ्दै बढ्दै बढ्दै गइरहेछन् ।