Lakshmi Mali – Daaju

मेरो आस्था
मेरो दाजु
स्वाभिमानी आँखा
ब्रम्हाण्डजस्तो विशाल छाती
महसूस गर्छु अहिले म
कतिचोटि भुटियो
त्यो निश्चल मन
कतिचोटि भासियो
त्यो अनवरत पाइला
काँधको भारीले कलिलो निधारमा
खप्टिएका नाम्लोका डामहरु
समयको हुरीले पनि मेटाउन सकेन
म अहिले पनि छर्लङ्गै देख्छु
शान्त सौम्य महासागरजस्ता
बुद्धका चार आर्यसत्यहरु बोकेको आँखामा
श्रद्धाले नतमस्तक झुक्छु म
जुन आँखाबाट जीवनमा उज्यालो पाएँ
इमान्दारी र स्वावलम्बनको पाठ सिकें
धेरैचोटि दुखायो
धेरैचोटि सुसायो
त्यो निर्दोष आँखा
तर
कहिल्यै भिजेन
कहिल्यै झुकेन
कहिल्यै विचलित भएन
अतीतहरु साक्षी छन्
अभावले धेरैचोटि सोध्यो
स्वाभिमान भनेको के हो ?
चिचिलाहरुको साँझ बिहानका चाराका लागि
आफ्ना धेरै तरङ्गहरुलाई तिलाञ्जली दिने त्यो आँखा
जुधाउन सक्छौ भने जुधाऊ
चियाउन सक्छौ भने चियाऊ
त्यो विशाल छातीमा ।