Chanki Shrestha – Chiso

मौसम चिसिएको छ
प्रत्येक दिन देशको मौसम चिसिँदै गएको छ
तर, बाबा पशुपतिनाथ देशमा अझै चिसो भित्र्याउन प्रतिबद्ध छन् ।

हिमाललाई नै टपक्क काखमा लिने सौभाग्य पाएकोले होला
पर्याप्त चिसो सञ्चयन गरेको छ देशले
चिसो सापटी फर्काउने मन छँदै छैन उसलाई
त्यसैले त सडक, बगैँचा, बन
खोला, खोल्सा
आँगन, मझेरी, कोठा, चुलो
कहाँसम्म भने मान्छेको मनभित्र समेत चिसोकै साम्राज्य छ ।

चिसोबाट बच्न मान्छेहरू अनेक उपाय गरिरहेछन्
देशवासीले शरीरमै हिटर जोड्नमात्र बाँकी छ

चिसो अचाक्ली बढेपछि
निकै महंगिएको छ रायोको स्वाद
प्रिय भएका छन् गाँजा र चुरोटको सर्को
चिया र कफीको सुर्को
तर, खङरंग सुकेका छन् दुबो र तुलसीका पात
ठहरै भएका छन् सुन्तलाका बिरुवा र पालुवा सपनाहरू

तर, बाबा पशुपतिनाथ
देशमा अझै चिसो भित्र्याउन प्रतिबद्ध छन् ।