रामप्रसाद प्रसाईं – चट्टानका बेर्नाहरू
पैयुँका फूलहरु
फर्ररररर
फर्ररररर
हल्लुँडका मनहरूसंगै
हाँसेका रित्ता थालहरू र
अगेनामा अधमरो पोलिइएका
हरिया मकैका घोगाहरू
मुलाका सागसंग
कर्याप्प कर्याप्प
चपाइरहिएकाछन्—
हाम्रा बिश्वासहरू, परम्पराका नाममा
हाम्रा सभ्यताहरू, आधुनिकताको नाममा
र
यी
यसरी नि
कर्याप्पै
भाँचिन्छन्
हाम्रा स्पाइनल कर्डहरू
शब्दसंस्कारका खगौता र श्रृजनधर्मिताका आखेटहरूमा
हु
ल
का
हु
ल
मान्छेहरू
पैयुँका फूलहरुमा
खोजिरहेछन्
बोकिरहेछन्
घुमिरहेछन्
चट्टानका मनहरूसंगै
विचारका रित्ता
रित्ता कमण्डलुहरू
विचारले रित्ता रित्ता कमण्डलुहरू
विचार भर्दा रित्तिइएका रित्ता कमण्डलुहरू
विचार भर्दा रित्याइएका रित्ता कमण्डलुहरू
विचार निथार्दा रित्तिइएका रित्ता कमण्डलुहरू
विचार हुनुले रित्तिइएका रित्ता कमण्डलुहरू
विचार नहुनुले रित्तिइएका रित्ता कमण्डलुहरू
प्राचीन बस्तीमा शेष
अवशेष गाड्धनहरू जस्तै
चिम्टाइला टारबारीका
चिप्लेकिराहरू चित्राका
छानाभरिभरिबाट चियाइरहन्छन्
तुषाराका रातहरू, हिउँपहिराका बारातहरू,
असिना जोखेका नांगाबस्तीहरू
युगबोधका लाँक्राहरू सुसाइरहेछन्
उखुबारीभरि
सर्ल्याक्क सुर्लुक्क
सर्ल्याक्क सुर्लुक्क
सनसनीपूर्ण
धिपधिप दियालाहरूमा धुपी र गोब्रेसल्लाका मनहरू
टाँसिइएछन् छेपारे लहरासंगै उत्तीसका टाँगहरूमा
नस सुँग्न र तमाखु माड्न
साइत हेर्न, माइत लाग्न
अतिथि बन्न र
चेतनाको खडेरीमा
इनार खन्न
शुरू गर्छन्
म
नै
बाट
घोडेदुबोका फैलावटसंगै
ढुँगाले सेपेकाका सिरूका पहेंलपुर पिपिराहरू
अर्घेली र पाटका लोक्ताहरू
तापिरहेछन्
जुनेलीका शीतहरू
थ/थापिरहेछन्
सौम्यताका रविचरणहरू
अँ
मनहरू
घिस्रिँदै घिस्रिँदै
तलतल देवीथानतिर
गाँजिदैछन्
क्षितिज चुम्नलाई
अनि
आकाश थाम्नलाई
रित्ता आलमारी अनि
सुखा गग्रेटाभरि
काकाकुलहरू
तैरिरहन्छन्—
खडेरीका आहालहरूमा,
बढ्दाछन्,
पाइतालाहरू अघि अघि
समयको गर्तमा
खच्याङ्ग खच्याङ्ग
खोच्याउदै
घाइते खुट्टाहरू
संगसंगै
ब/बोलिरहेछन्
मन मनहरूसंग
खुचिङ्ग
खुचिङ्ग
किनकि
मनका पाइताला
र
पाइतालाका मन
रहेनन्
यी
त
झुसिल्किराका मनहरू पो रहेछन्
अण्डालार्भाझुसिल्किरापुतलीअण्डा
चोके र च्याँखे चाखेका प्वालैप्वालले भरिएका
न आकाश ढाक्ने
न धर्ती छोप्ने
च्यार्रर
च्यार्रर
उद्रिएका मनहरू
अनि
झुत्रिइएका स्मृतिहरू जस्तो
रंगैरंगका ढंगहरूजस्तो
ढंगैढंगका रंगहरूजस्तो
फर्फराइरहेका त्रिपालहरूजस्तो,
फु
फुसु
फुसुसु
फुसुसुसु
फुसुसुसुसु
क्या रमाइलो
झरिरहेछन्, आइरहेछन्, छोपिरहेछन्
अप्सराझैं हिउँका चुम्बनहरू
पैयूंका फुलहरूसाथ
कोमलताका मृत्युगानमा
अमृत जिजीविषाहरू।
जाउलाले भरेका ताउलाहरूमा
जगेडाका बगडासंगै
पोइला गएका भातेनिद्राहरू
कुम्भकर्ण हिमालको टांगमुनि
घोत्लिइएर
उमारेका
बाघमारे भीरमा अल्झेका
चट्टानका बेर्नाहरू
समयभित्रको गर्भ
गर्भभित्रको समय
‘ब्ल्याकहोल’मा
हेलिइएका हुण्डरीहरू
खुम्बु र महालँगुरमा ठोकिइएर
पग्लिइहेछन्
नवोदित सन्देशका
सिंचनमा
.
..
…
अनन्त।
सेप्टेम्बर १७, सन् २०१०
कालीखोला -२(तेम्बोक), ताप्लेजुङ्ग, नेपाल । अबुधाबी श्रमशिविरबाट।
(Sent to Sanjaal Corps via Email)