Shikhar Arohan – Chakrabyuha

शिखर आरोहण – चक्रब्यूह
(Sent to Sanjaal Corps via Email)

व्यासको महाभारतमा
द्रोणचार्य,
तिम्रो चक्रब्यूहको प्रहारले
निरीह अभिमन्युलाई
अचानोमा पारेर
मर्नु न बाँच्नुको दोसाँधमा
उभ्याइरहेको रहेछ
म एकान्तमा
नारदमुनीको प्रतिवेदनसँगै
तिम्रो चक्रब्यूहको
भग्नावशेषमा लडिरहेको
अभिमन्युलाई निहालीरहेछु
महाभारतको लिखीत सङ्ग्रह
अब,
अलिखीत पत्रहरू हुँदै
यत्रतत्र उडिरहेछन्
हिजोको त्यो इतिहास
आज अभिशाप भएको छ
हिजोको त्यो समय
आज श्रापित मरेको छ
मात्र चक्रब्यूह
नयाँ जन्ममा
रूपान्तरीत हुँदै गएको छ

द्रोणचार्य,
लैजाउ अरूपनि एकलब्यका औंलाहरू
निशाना त चुक्ने छैनन्
हिड्दा–हिड्दै गन्तव्यभित्र
पैतालाका स्पर्शहरू पाएर
तिम्रो चक्रव्यूह पनि
झरिहरूमा रूझ्न सक्छ
तिम्रो चक्रव्यूह पनि
हिउदहरूमा चिस्सीन सक्छ
द्रोणचार्य,
अब विर्सिदेउ चक्रव्यूहका कुरा
अब चलाउन छोडिदेउ
चक्रव्यूहका छुरा ।