Dipendra KC – Bipana Janmaune Sapana

दीपेन्द्र के.सी. – विपना जन्माउने सपना

तार्न नसकेका सपनाहरु सवै
छोडेर खोलापारि
उतार्छु आफूलाई बगरमा
अनि हेर्छु ओसिलो पल्लो किनार –
एकझोला सपनाहरु
पोखिएका रहरहरु
र, झरेका रक्तिम लालीगुराँसहरु
अन्तिम हाँसो हाँस्छन म सँग ;
बग्नुछ उनीहरुलाई
केहीक्षण पछि आउने भीषण बाढीसँगै
र, गर्नुछ समापन–धमिलो यात्राको ।

म फेरि शुरु गर्छु
शाश्वत यात्राको नयाँ श्रृङ्खला
र, लाग्छु उकालीहरु
अर्कै क्यानभाष पोतेर मनमा ।

भत्केका सिंढीहरु
लहरै बतासे डाँडाहरु
नाँगा सिंगाने बालकहरु, कुप्रा बुढाबुढीहरु
पहाड ओदारिरहने भोका पेटहरु
रातै बाँझा बारीहरु, मक्किएका झुप्राहरु
पुगेर मध्यमा
विसाएर हेर्छु तलतिर
र, फेरि बटुलेर केही सपना !
सम्भार गरेर तलदेखि
गाँउलाई गाँउजस्तै बनाउनु छ
पाखा र डाँडाभरि राताम्मै लालीगुराँस फुलाउनुछ
बोट र बारीभरि लटरम्मै सपनाका फलहरु फलाएर
अनि बल्ल आराम लिनुछ सिरानमा ।

यो अर्को रुप हुनेछ
मेरो सपनाको
जसले कोरलेर पक्कै
जन्माउने छ विपनाहरु
अनि बल्ल यात्राले फेर्नेछ
सन्तोषको एउटा श्वास
पुगेर सिरानमा ।

बागलुङ, हाल ओस्टण्डे बेल्जियम
२६ फेब्रुअरी २०१३