Shikhar Arohan – Bhram

शिखर आरोहण – भ्रम
(Sent to Sanjaal Corps via Email)

भ्रमहरू,
हेरिरहेछन् मलाई मेरो वरिपरिबाट
म भ्रमहरू बाँचिरहेछु ।

सपनाका भ्रमहरू
जीवन भ्रमहरू
भ्रमहरूसँगै नै मेरो दैनिकी तय भइरहेछ ।
भूतकालका कथाहरूसँगै
म खोजिरहेछु,
सत्यता, यथार्थ र वर्तमान
यी वर्तमानहरू मलाई
कहिले यता कहिले उता पछार्छन्
म तीनै भ्रमहरूमा
विश्व हाँक्ने विवशता तन्काइरहेछु ।

निकोटिनले पहेँलिएका मेरा ओठहरू
आवाज दिने प्रयास गर्दछन्
प्रयासहरूमै काँप्दाकाँप्दै ओठहरू
सुख्खा भएर झर्नै आँटिसके
एक प्याला भ्रममा
मनौं संसारलाई नै तन्काउन
सोचिरहेछु – कथा र कथाका पात्रहरू
यी कथाका पात्रहरू
कहिले नाङ्गै बनिदिन्छन्
कहिले लमतन्न सडक छेउ
मदिरा दिवस मनाइदिन्छन् ।

म धेरैपटक मरेर बाँचिरहेछु
सदियौं मरिरहेनेछु,
भ्रमहरू मरेका छैनन्
कहिल्यै मर्दैनन् ।
दोबाटोहरूमा म अल्झिरहेछु
अनिर्णित भइरहेछु
भ्रमहरू सोझो बाटो देखिरहेछन्
भ्रमहरू कहिल्यै पछाडि परेनन्
भ्रमहरू भनिरहेछन् –
यस्तो भ्रममा जिइयो
साला जिन्दगी ।

२०६५/०९/०३
तीनथाना, काठमाण्डौं