उन्मत्त बेलगाम घोडा
दिनदहाडै
रातविरातै
हरिया घाँसे मैदानहरुमा
नौरङ्गी फूलका फूलबारीहरुमा
अन्न लहलहाएका फाँटहरुमा
मनपरी कुल्चिँदै
उखेल्दै खाँदै
प्रकृतिविरुद्ध
विध्वंश गर्दै
नरसंहार गर्न
पानीको साटो
रगतको खोला बगाउन आतुर
त्यो बेलगाम घोडा
हिनहिनाउँदै छ
बेरोकटोक कुद्दैछ
बेहिसाब कुद्दै गरेको
त्यसको टापको आवाज
विश्वलाई संत्रासको शिकार बनाएर
सारा वैभव लुट्न
शान्तिको अभिमतमाथि टेक्दै
नियम–कानूनलाई बलात्कार गर्दै
अन्याय शब्दको
अर्थबोध गराइरहेको छ ।
के हिरोशिमाले बिर्सियो होला
उसका हिंस्रक खुरहरुलाई ?
के भियतनामले माफ ग¥यो होला
उसका तीखा दाह्राहरुलाई ?
तेलकुवाबाट निस्केका आगोका लप्काहरुले
डढेका मनहरु पलाएका छैनन्
प्यालेस्टाइनको घाउमा
खाटा बसेको छैन
अफगानिस्तानमा बगेको रगत
सुकेको छैन
फेरि त्यो बेलगाम मिचाहा घोडा
मानव सभ्यता ध्वस्त पार्न
गिद्दे आँखा तर्दैछ ।