Shiva Prakash – Beiman Ti Sadakharu

शिव प्रकाश – बेइमान ती सडकहरु … !

ती सडकमा
अरु नै हिड्छन्
तिमीले बनायौं,
तर ती सडक
तिम्रा लागि हैनन् ।

तिमीसँग
रामे, श्यामे र हर्केहरु थिए
पातली, सुन्तली र चमेलीहरु थिए
र, मसँग थिए-
झक्सु, बन्झडु र खेरुवाहरु
राधो, कलावती र मैयासरीहरु
ती सडक ….
तिमीले र हामीले बनायौं
तर ती सडकहरु
तिम्रा हाम्रा गाउँघरतिर जाँदैनन्
ती सडकहरु अन्ततः
महलमा गएर टुङ्गिन्छन् / हराउँछन्
बेइमान सडकहरु …. !

हरदम स्वागत गरिरहेछन्
कालो ओढेका ती काला सडकहरु
कालो मन भएका मान्छेहरुलाई
कालो रङ भएका गाडीहरुलाई
बेइमानीको विम्व / प्रतिविम्व
बेइमान ती काला सडकहरु … !