प्रभु ! म गरीव त छदैं थिएँ
हुँदा हुँदै अहिले तन्नम् भएँ
मेरो सर्वस्व हरण भयो
खोसिदाँ खोसिँदा
अलिकति स्वतन्त्रता बचेको थियो
त्यो पनि हरण भयो,
अलिकति मौलिक हक बाँकी थियो
त्यो पनि निर्मूल भयो
एक त्यान्त्रो जनअधिकार बाँकी थियो
त्यो पनि प्रभुको कृपाबाट चुँडियो
गरीव नै भएता पनि
नागरिक भएर बाँच्न पाउँदा
केही बिषेक थियो,
दर्जा विहिन रैतीमा झरेपछि
त्यो पनि समाप्त भयो ।
प्रभु ! अब बाँच्ने इच्छा
अलिकति बाँचेको छ
त्यो पनि कतिन्जेललाइ हो ?
प्रभुकै हातमा छ !
प्रभु ! हजूरले भरखरै रोपेको
त्यो बुढो सिमलको रुखलाइ
हजूरका दूतहरुले सीधा देखे पनि
म त्यसलाइ बाङ्गो देख्दैछु
प्रभु ! किन हो थाह छैन ?
मेरो गर्धन चिलाएर हो कि,
म बौलाएर हो ?
प्रभु ! मैले पनि त्यही ‘कखरा’
त्यही देबनागरी
त्यही राष्टि्रय गीत पढेको हूँ,
आज कसरी म,
अराष्टि्रय शिक्षाको विद्यार्थी भएँ !
थाह छैन प्रभु !
म बौलाइसकेको मान्छेले
राष्ट्रवादी शिक्षा कसरी पढ्ने हूँ !
हो, प्रभु ! म बौलाए जस्तो लाग्दैछ
पानी देख्दा भाग्न मन लाग्छ,
आगो देख्दा जुध्न मन लाग्छ !
तन्नम भएपछि मर्नुभन्दा पहिले
बहुलाउनु नै पर्दो रहेछ ।
प्रभु ! अहिले म हजूरलार्इ देवता होइन,
दैत्य जस्तो देख्न थालेको छु
प्रभुहरु जस्तो देवतालार्इ देखेर
बौलाहा कुकुर जस्तो भुक्न थालेको छु
हो प्रभु ! म बौलाएकै हो,
नत्र देवतालार्इ किन दैत्य देख्छु ?
हरैंचा/मोरङ, हाल : बोष्टन/ अमेरिका ।जून १३, २००५।