Binod Khadka – Banduk Ko Sahi Gantabya Ke Ho

बारुदका गन्धहरुमा खेल्नेहरुसंग
जीवनका परिभाषा माग्नेहरु
रगतका रंग नाप्नेहरुसंग
नाताको निचोड खोज्नेहरु
नहाँस्नु कहिले पनि

अरुका अज्ञानताहरुसंग अनभिज्ञहरु ।

के थाहा उसका पीडाहरु
जो बारुदका गन्धमा भुलिनॆ गर्छ
के थाहा उसका रमाईलोहरु
जो बन्दुकसंगै रमाउने गर्छ
या आफ्नै आँखा अगाडी
छटपटाईरहेकी आमाको पीडा
स्मरणमा दोहोर्याई रहेको हुन्छ
त्यसैले
नखोज जीवनका परिभाषाहरु
नखोज रगतका नाताहरु
बन्दुक बोक्नेहरुसंग
गोली र खोकाहरुसंग खेल्नेहरुसंग
अनि कहिले नहाँस
तीनका जवाफहरुसंग ।

किन सोध्छन मान्छेहरु
बन्दुकहरु किन बोकिएका छन
किन सोध्दैनन मान्छेहरु
बन्दुकहरु किन बोकाईएका छन
किन सोध्दैनन मान्छेहरु
अरुको खुसीहरुलाई पीडासंग पैचिनेहरुसंग
शहरका महंगा भव्यता ताक्नेहरुसंग
बन्दुकको सही गन्तव्य के हो ?
बन्दुक बोक्नेका जीवनका अर्थहरु के हुन ?