Laxmi Prasad Devkota – Baishakh Chaturdashi Ki Chandani Sanga

क.

“हिम–स्तनी ए ! हिउँमा टेकी,
किन आ’की ?”
“दिवस–ज्वरको ज्वलनको आगो
निभा’की ! ”

ख.

“सुधावदिनी ह् ! स्वर्गकी चरी, किन
हँसिली वदन ?”
“प्रेमी जोडीहरुको देख्दछु,
मधुर मिलन ! ”

ग.

“यति मीठोसँग पृथिवीमा किन मुसका’की ?”
“हरिया हृदय, अधरमा फुस्किन,
छु सिका’की !”

घ.

“भाव–ग्रन्थिका गहिरा बास्ना
रानी ! कसरी फुस्किन्छन् ?”
“शीतलताको ललित लतामा
एकान्त जूनमा निस्किन्छन् !”

ङ.

“ए जूनरानी ! संसार निहाछर्यौ ।
के, के, उदेक छ ?”
“पागल मातले जब काढाँ सब
फूल फूल देख्छ !”

च.

“स्वर्ग कहाँ छ ?” “मुखमा राजा ! ”
“दृष्टि कहाँ छ ?” “जूनमा राजा ! ”
“अमृत कहाँ छ ?” “दिलमा राजा ! ”
“प्यार कहाँ छ ?” “बेलीमा ताजा ! ”

छ.

“ए जून ! दिन कै ?” “घाउ, घाउ ?”
“रात के प्यारी ?” “मलम, मलम ?
स्वपना, विपना, शवनम !”

ज.

“तरुनालाई म हुँ जवानी,
दीवानी !
अरुलाई हुँ, बिर्सिनसक्नु,
कोमल एक कहानी ।”

झ.

“रस केमा छ ?” “दुई प्यालामा ?”
“मधुबाला को ?” “रानी !” “रुप ! ”
“सुन्दर कहाँ छ ?” “जून–गालामा ।
सृष्टिकी हुँ पीली दीप”

ञ.

“यो के जादू ?” “जीवन ! जीवन !
प्रेरणा, मिलन, सुमन !
प्रकृतिका हुन् मीठा मन्त्र, सृष्टिमुखी, यी !
इन्दु–किरण ! इन्दु–किरण !”