Rupesh Rai – Bahya Smriti Daap Bata

रुपेश राई – बाह्य स्मृति दापबाट…

स्वस्थ
तर, अस्वस्थ,
कति रोए ‘दार्जीलिङ’,
ठीक, म बाल्यावस्थामा थिएँ ।
आशा
तर, निराशा,
कति रिक्त भावना,
ठीक, म अक्षरावस्थामा थिएँ ।
‘ख’
तर, ‘भू’
कति खोजे बिकल्प
ठीक, म यौनावस्थामा थिएँ ।
भोक
तर, भोजन
कति यत्न प्रत्याशा
ठीक, म भोगावस्थामा थिएँ ।
विवेक
तर, पिँजड़ा
कति चाहे स्वतन्त्र
ठीक, म बाध्यतामा थिएँ ।
चीर
तर, नग्न
कति लागे कलङ्क
ठिक, म लथालिङ्ग थिएँ ।
पाए
तर, खोसिए
कति लुटे अस्मिता
ठीक, म वेहोशीमा थिएँ ।
मान
तर, अपमान
कति सहे उनले
ठीक, म षड़यन्त्रमा थिएँ ।
देखे
तर, अन्धो
कति भए सहिद
ठीक, म मेचमा थिएँ ।
कलम
तर, हिंसा
कति पढ़े ‘मुर्ख’
ठीक, म सन्धानमा थिएँ ।
सम्झौता
तर, विडम्बना
कति पर्खे ‘दार्जीलिङ’
ठीक, म अन्योलमा थिएँ ।
उन्नति
तर, अवन्नति
कति देखे भ्रष्टचार
ठीक, म महलमा थिएँ ।
सम्झे
तर, बिर्से
कति हतास आत्मा
ठीक, म चिकित्सामा थिएँ ।
यत्न
तर, विफल्
कति फोरे चक्षू
ठीक, म नजरबन्दमा थिएँ ।
विश्वास
तर, घात
कति फिक्सन ‘प्रदेश’
ठीक, म मुट्ठिमा थिएँ ।
विजय
तर, पराजय
कति भए अन्य
ठीक, म स्तिपामा थिएँ ।।

दार्जीलिङ