Saroj Dhital – Baadal Ko Kavita

सरोज धिताल – बादलको कविता

कहिले
कसरी
बादलको कविता लेख्न थाले छ कवि
रङ ?
आकृति ?
खै मनमा बसेछ बादलको कस्तो छवि !

बादलकै कवितामा ऊ रमाइरह्यो
बिर्सिएर सबथोक, शब्दशब्दमा बादल समाइरह्यो ।

निमेष, पल हुँदै शायद युग बिते ।

थाकेका औँलाहरू
पाट्टिएका गोडाहरू
दुःखेको ढाड सोझ्याउन
थोत्रो भित्ताको आड लिएर
उठ्यो जब जिउ तन्काउँदै ऊ

जीवनको अधैर्य तरङ्गले
उसलाई छाडेर भागिसकेछ
दुनियाँको मतलबी रङले
गिज्याउँदै कविलाई त्यागिसकेछ
बादलको कविता लेख्दा–लेख्दा
कविताकै बादलले निलिसकेछ ।