तारा पराजुली – अस्वीकृत उपहार
(मधुपर्क २०६७ असार)
बल्ल खाटा बसेथ्यो
तिमीले दिएको घाउको
पुनश्चः उही खाटा
कम्पनी आत्माले
फुस्क्यो एउटा डिपार्टमेन्ट पसल
र, साट्यौ तिनै रुपैयाँ
तिमीलाई रङ्गिन लाग्ने रहरहरूसँग ।
बन्दुकको नालजस्ता तिम्रा आँखाहरू
नतमस्तक छन् मैतिर
तर पराजित बेहोेर्ने छौ तिमीले
यो एकलौटी मुटुबाट
स्वर्गजस्तो मेरो संसार
सार्नु छैन बसाइँ
काँचले बनेको तिम्रो सहरमा ।
सुसाएकी हुँ वियोगमा
थुप्रै प्रेमपर्वहरू
चौतारीको एक्लो पीपल भएर
बगाएकै हुँ आँखामा साउन
तमोर भएर
अहँ, देखिनँ कतै
तिम्रो आस्थाका हिउँचुली ।
बेइमान हौ तिमी भावनाको
बालुवाको उपहार बोकेर
नआऊ मेरोसामु
बगाएकी छु-
बर्षात्को अरुण भएर ।